क्रिसमसमा प्रभासको ‘सालार’ रिलिज घोषणा, शाहरुखको ‘डंकी’सँग बक्सअफिस भिडन्त

क्रिसमसमा प्रभासको ‘सालार’ रिलिज घोषणा, शाहरुखको ‘डंकी’सँग बक्सअफिस भिडन्त

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता प्रभासका फ्यान प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सालार’लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नील निर्देशित सिनेमा एक हिंस्रक व्यक्तिको कथामा बनेको एक्सन थ्रिलर बताइएको छ ।

निर्माण घोषणासँगै सिनेमाको निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर पोस्ट-प्रोडक्सनमा काम बाँकी भएको भन्दै प्रदर्शन स्थगित गरिएको थियो । शुक्रबार निर्माण कम्पनी होम्बेल फिल्म्सले एक पोस्टर सहित नयाँ रिलिज मिति घोषणा गरेको छ ।

सिनेमाको निर्माण टिमले आगामी २२ डिसेम्बर २०२३ लाई नयाँ रिलिज मितिको रुपमा घोषणा गरेको छ । क्रिसमस सप्ताहन्तको यो मितिमा ‘सालार’ शाहरुख खान स्टारर ‘डंकी’सँग जुध्नेछ । यो जुधाईलाई भारतीय सिनेमाको ठूलोमध्येको एक भिडन्तको रुपमा लिइएको छ ।

गत वर्ष निर्माताले टिजर सार्वजनिक गर्दै ‘सालार’ दुई भागमा बन्ने बताएका थिए । पहिलो भाग ‘सालार पार्ट वान-सिजफायर’मा प्रभाससहित पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबु शीर्ष भूमिकामा हुनेछन् ।

केजीएफ र कान्तारलाई निर्माण गरेको हम्बेल फिल्म्सले सालार पनि बनाएको हो । यसअघि नै यही मितिमा राजकुमार हिरानीको निर्देशनमा तयार भएको सिनेमा ‘डंकी’ रिलिजको घोषणा भैसकेको छ । सिनेमामा साहरुख खान र तापसी पन्नु लगायतका कलाकारको अभिनय रहेको छ ।

बक्स अफिसमा यो सिनेमाले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । राजकुमार हिरानी र साहरुख खानले पहिलो पटक एकसाथ काम गरेकाले पनि दर्शकलाई यी दुइको केमेष्ट्री पर्दामा हेर्नका लागि उत्सुकता जागिरहेको छ ।