‘हात्तीछाप’को पोस्टर सार्वजनिक, सौगात र दयाहाङको लुक्सले खिच्छ दर्शकको ध्यान

‘हात्तीछाप’को पोस्टर सार्वजनिक, सौगात र दयाहाङको लुक्सले खिच्छ दर्शकको ध्यान

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र सौगात मल्लको मुख्य भुमिका रहेको सिनेमा ‘हात्तीछाप’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सिनेमाको गत महिना सार्वजनिक गरिएको सौगातको ‘बोतल राजा’ अवतारले सिनेमाप्रति दर्शकमाझ कौतुहलता पैदा गरेको छ ।

यसबीच, सिनेमाका मुख्य कलाकारहरुलाई समेटेर निर्माण टिमले दुईवटा पोस्टर सार्वजनिक गरेको छ । जसमध्ये एउटामा सौगात बन्दुकलाई काँधमा राखेर घोडामाथि सवार छन् । दयाहाङ भने काखमा पाडो बोकेर खुसी भावमा देखिएका छन् । उनको साथमा अभिनेत्री उपासना सिंह ठकुरी घाँसको मुठा काखी च्यापेर प्रस्तुत छिन् । यसले उनीहरु दाम्पतीको भूमिकामा रहेको संकेत गर्छ ।

ग्रामीण भूगोललाई पृष्ठभूमिमा राखेर तयार पारिएको दोस्रो पोस्टरमा सौगात, दयाहाङ र उपासनाको साथमा वेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ र विल्सन विक्रम राई पनि फिचर्ड छन् । पोस्टरमा ध्यान खिच्ने भनेको चाहिँ सौगातको लुक्स र गेटअपले हो । उनको चरित्र रिसाहा र सन्काहा हुनसक्ने आँकलन गर्न सकिन्छ । सिनेमाले ग्रामीण जीवनको कथा बोल्ने पोस्टरबाट बुझिन्छ ।

सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’मा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, सुष्मा निरौला आदिको पनि अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता पुष्कर गुरुङ र अमलादेवी राई हुन् ।