राज कुमार सन्तोषीले निर्देशन गर्ने ‘लाहोर १९४७’मा सहकार्य गर्दै आमिर र सन्नी

राज कुमार सन्तोषीले निर्देशन गर्ने ‘लाहोर १९४७’मा सहकार्य गर्दै आमिर र सन्नी

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खानले अर्का अभिनेता सन्नी देओललाई मुख्य भुमिकामा अनुबन्धित गर्दै नयाँ सिनेमा निर्माण घोषणा गरेका छन् । राजकुमार सन्तोषीले निर्देशन गर्ने सिनेमाको नाम ‘लाहोर १९४७’ राखिएको छ ।

आमिर खान प्रोडक्सनले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेको हो । बलिउडमा सन्नी र राजकुमार सन्तोषीको मित्रतालाई खास मानिन्छ । सन्तोषीले सन्नीसँग ‘घायल’, ‘घातक’ र ‘दामिनी’ जस्ता सुपरहिट सिनेमामा गरिसकेका छन् ।

सिनेमाको निर्माण घोषणा गर्दै आमिर खान प्रोडक्सनले विज्ञप्तीमा लेखिएको छ, ‘सन्नी देओल र राजकुमार सन्तोषीसँग सिनेमा लाहोर १९४७ मा जोडिन पाउँदा निकै खुसी लागेको छ । हामीलाई आशा छ, यो यात्रा अद्भूत हुनेछ । हामीलाई तपाईको साथ र सहयोग चाहिन्छ ।’

सिनेमाको बजेट करिब १०० करोड भारु बताइएको छ । ‘गदर २’ बक्सअफिसमा ब्लकबस्टर भएपछि सनी देओलको माग बलिउडमा निकै बढेको छ । सिनेमामा धेरैपछि सन्नी र सन्तोषीले सहकार्य गर्दैछन् । यी दुईको पछिल्लो सिनेमा ‘घातक’ थियो ।

घातकपछि दुवैले सँगै कुनै सिनेमा गरेनन् । सिनेमा ‘भगत सिंह’लाई लिएर दुवैबीच विवाद भयो र त्यसपछि दुवैले सँगै काम गरेनन् । राजकुमार सन्तोषीको निर्देशनमा सन्नीले दुईवटा राष्ट्रिय अवार्ड जिते । ‘घायल’को लागि पहिलो र ‘दामिनी’को लागि दोस्रो । यी दुई बलिउड सिनेमा उद्योगको सबैभन्दा सफल अभिनेता-निर्देशक जोडी मानिन्छ ।

आमिर खान र राजकुमार सन्तोषी पनि धेरै वर्षपछि एकसाथ काम गर्दैछन् । यसअघि दुवैले सन् १९९४ मा आएको सिनेमा ‘अन्दाज अपना अपना’मा काम गरेका थिए । राजकुमार सन्तोषी निर्देशित सिनेमामा आमिर र सलमानको मुख्य भूमिका थियो ।