‘दिमाग खराब’ कुनैपनि राजनीतिक एजेण्डामा बनाएको होइन : निश्चल बस्नेत

‘दिमाग खराब’ कुनैपनि राजनीतिक एजेण्डामा बनाएको होइन : निश्चल बस्नेत

राम्रो सिनेमाको शो बढ्दै जाने भएकाले कमसेकम सुरुमा बराबर शो दिने सोचको विकास हल सञ्चालकमा हुनुपर्ने माग निश्चल बस्नेतको छ ।

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेतले ‘लुट’बाट नेपाली सिनेमाको कथावाचनको शैली नै परिवर्तन गर्ने निर्देशकको परिचय बनाए । ‘लुट’ले नेपाली सिनेमाको बजार नेपालसँगै विदेशमा समेत बढाएको थियो । यही कारणले ‘लुट’लाई ‘ट्रेन्ड सेटर’ सिनेमाको रुपमा पनि चिनिन्छ ।

निश्चलले ‘लुट’पछि सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’को निर्देशन गरेका थिए । दर्शक तथा समीक्षकबाट ‘लुट २’ले राम्रो प्रतिक्रिया नपाएपछि निर्देशनबाट केही समय टाढा बसेका करिब ६ वर्षपछि ‘दिमाग खराब’बाट निर्देशनमा फर्किएका हुन् । आगामी कात्तिक २४ गतेबाट तिहारको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

तीन हप्ताअघि सार्वजनिक टिजर हेर्दा सिनेमा राजनीतिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको बुझ्न सकिन्छ । तर, निर्देशक बस्नेत सिनेमाभित्र राजनीतिक विषय भए पनि सामाजिक कथा रहेको बताउँछन् । कुनै राजनीतिक एजेण्डामा सिनेमा निर्माण नगरेको दाबी निर्देशक बस्नेतले सिनेमाको गीत रिलिज कार्यक्रममा गरेका छन् ।

सोमबार गीत रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘मैले कुनै राजनीतिक एजेण्डामा सिनेमा बनाएको होइन । म आफैंले पनि कुनै दलप्रति झुकाव राखेको छैन । यो विशुद्ध मनोरञ्जनात्मक सिनेमा हो । सामाजिक कथामा बनेको छ ।’ राम्रो र रमाइलो सिनेमा बनाउने प्रयत्न गरेको बताउँदै निश्चलले एउटा साधारण मान्छेको कथालाई प्रस्तुत गरिएको प्रष्ट्याए ।

‘एउटा साधारण मान्छेको आफ्नै भोगाईहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग खराब हुन पुग्छ भन्ने उत्तर खोज्न यो सिनेमा बनाएका हौं,’ उनले भने, ‘सिनेमामा म लगाम लगाएको घोडाजस्तै सीधा छु । दायाँ-बायाँ छैन ।’ सिनेमामा स्वस्तिमा खड्काले मुख्य अभिनेत्रीको भूमिका निवार्ह गरेकी छन् ।

निश्चलले पहिलोपटक श्रीमती स्वस्तिमा खड्कालाई निर्देशन गरेका हुन् । यसअघि उनीहरुले केही सिनेमाका गीत र म्यूजिक भिडियोमा भने सहकार्य गरेका थिए । निर्देशक बस्नेत आफुले स्वस्तिमा अभिनित सिनेमा ‘बुलबुल’ र ‘चिसो मान्छे’ हेरेपछि अभिनयमा परिपक्वता देखेको बताउँछन् । स्वस्तिमासहित सिनेमामा आफूसँग काम गरेका सबै कलाकारको कामबाट सन्तुष्ट रहेको बताए ।

बक्सअफिसमा बलिउड अभिनेता सलमान खानको ‘टाइगर ३’सँग निश्चल निर्देशित कमब्याक सिनेमा दिमाग खराबले प्रतिस्पर्धा गर्नु पर्नेछ । ठूलो विदेशी सिनेमासँग भिड्दा नेपाली सिनेमामाथि शोमा विभेद भएका उदाहरण धेरै छन् । निश्चल यसपटक त्यो नहुनेमा विश्वस्त छन् । राम्रो सिनेमाको शो बढ्दै जाने भएकाले कमसेकम सुरुमा बराबर शो दिने सोचको विकास हल सञ्चालकमा हुनुपर्नेमा माग उनको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।