एक सय सार्वजनिक यातायतमा पोस्टर राखेर ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘बस पब्लिसिटी’

एक सय सार्वजनिक यातायतमा पोस्टर राखेर ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘बस पब्लिसिटी’

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा सिनेमाको होडिङ्ग बोर्ड राख्ने काम भैरहेको छ ।

काठमाडौं महानगरपालिका भित्र मेयर बालेन शाहले पोस्टर टाँस्न नपाउने नियम ल्याएका छन् । जसले गर्दा निर्माण टिमले काठमाडौं महानगरपालिका भएर चल्ने करिब १ सयबढि सार्वजनिक यातायतमा पोस्टर राखेर सिनेमाको प्रचार गर्ने भएको हो । वास्तविक दर्शकसम्म सिनेमाको प्रचार पुगोस् भन्ने उद्देश्यले निर्माण टिम ग्राउन्ड जिरो प्रचारमा जुटेको छ ।

सिनेमाको निर्माण टिमले काठमाडौंमा ‘बस पब्लिसिटी’ अभियान समेत चलाएका छ । जस अन्तर्गत काठमाडौँका विभिन्न क्षेत्रमा चल्ने एक सय सार्वजनिक बसहरूमा सिनेमाको प्रचार सामाग्रीले रङ्गिएका छन् । सिनेमाको पोस्टर काठमाडौंमा टाँस्न नपाइने भएकाले विकल्पको रूपमा सार्वजनिक यातायातमा पोस्टरहरू टाँसिएको सिनेमाका निर्देशक दीपेन्द्र के खनालले बताए ।

सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको अनुभव सुनाए । खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास हामीले लिएका छौं निर्माता तथा लेखक खगेन्द्र लामिछानेले बताए । अबको केहीदिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै व्यापक प्रचार प्रसारको तयारीमा रहेको जानकारी उनले दिए ।

सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।