‘दिमाग खराब’को बारेमा के भन्छन् खगेन्द्र, स्वस्तिमा र सुपुष्पा (भिडियो सहित)

‘दिमाग खराब’को बारेमा के भन्छन् खगेन्द्र, स्वस्तिमा र सुपुष्पा (भिडियो सहित)

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत सोमबार काठमाडौंमा निश्चल बस्नेत निर्देशकीय कमव्याक सिनेमा ‘दिमाग खराब’को भव्य गीत रिलिज कार्यक्रमको आयोजना गरिएको थियो । सिनेमाको गीत रिलिज कार्यक्रमा अभिनेता खगेन्द्र लामिछाने, अपर्ण थापा, सुमन कार्की तथा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट अपस्थित थिए ।

गीत रिलिज कार्यक्रममा बोल्ने क्रममा अभिनेता खगेन्द्र लामिछानेले निर्देशक निश्चल र आफू असल साथी भएको बताए । ‘हामी एउटा एक्टर र डिरेक्टरभन्दा माथि एक असल साथी हौं’ खगेन्द्रले भने, ‘उसको निर्देशनलाई मैले अक्षरशः सक्नेजति काम गरेको छु ।’ आफूले एक आममान्छेको भूमिका यसमा चित्रण गरेको उनले बताए ।

सोमबार सिनेमाको गीत रिलिज कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले निर्देशकको रुपमा श्रीमान् निश्चल बस्नेतसँग पहिलोपटक सहकार्य गर्दाको अनुभव सुनाइन् । निश्चल आफूले अहिलेसम्म काम गरेका निर्देशकभन्दा धेरै सजिलो, कुल र चील मान्छे भएको भन्दै प्रशंसा गरिन् ।

स्वस्तिमाले निश्चल आफ्नो मनपर्ने निर्देशक रहेको बताइन् । श्रीमानको निर्देशनमा काम गर्दा बेग्लै अनुभव भयो । उनको अनुभवमा निश्चल एकदमै सजिला निर्देशक हुन् । सुटिङमा कहिल्यै गाली गरेको र रिसाएको नदेखेको उनले बताइन् । अरुले गाली गर्दा पनि सम्झाउनु हुन्थ्यो । श्रीमानको सिनेमा भन्दैमा आफ्नै कुरा हुनुपर्छ भन्ने नहुने दाबी उनको थियो । ‘दिमाग खराब’ आफ्नो लागि विशेष रहेको समेत उनले बताएकी छन् ।

अभिनेत्री सुपुष्पा भट्टले ‘दिमाग खराब’ कोरोना महामारी पश्चात आफ्नो कमव्याक सिनेमा भएको बताइन् । सिनेमाको यही गीतमा मात्रै उनले बिशेष भुमिका निवार्ह गरेकी छन् । सुपुष्पाले सिनेमा एक गीतमा नृत्य गरेकै आधारमा कमव्याक भनेपछि पत्रकारले ‘दिमाग खराब’ कमव्याक नै हो त ? भनेर प्रश्न गरेका थिए । जवाफमा उनले लामो समय पश्चात सिनेमामा काम गरेकाले कमव्याक नै मान्नु पर्ने तर्क पेश गरिन् । साथै, आफुलाई निश्चल बस्नेतका आगामी प्रोजेक्टमा सहकार्य गर्न मन लागेको बताइन् ।

यता, निर्माता रौनक विक्रम कँडेललाई हिरोइन पत्नी सुपुष्पालाई आफैले निर्माण गरेको सिनेमामा किन अभिनय नगराएको भनेर प्रश्न गरेका थिए ? जवाफमा निर्माता कँडेलले आफूले निर्देशकलाई कास्टिङमा हस्तक्षेप नगरेको भन्दै एउटा राम्रो सिनेमा दर्शकमाझ ल्याउने सोचेकाले बाँकी कुरा निर्देशकलाई जिम्मा दिएको र निर्देशकले क्यारेक्टरमा जो-जो फिट देख्नु भयो उहाँहरुलाई नै लिएर आफुले काम गरेको बताए ।