‘परदेशी २’ टिमलाई महायज्ञमा भव्य स्वागत तथा सम्मान

‘परदेशी २’ टिमलाई महायज्ञमा भव्य स्वागत तथा सम्मान

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रवारबाट दशैंको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘परदेशी २’ टिम यतिबेला प्रचार-प्रसारमा व्यापक रुपमा लागिपरेको छ । सिनेमा प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।

यतिबेला निर्माण टिमल एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत सिनेमाको प्रचार गरिरहेको छ । अर्कोतर्फ, सिनेमाका कलाकार विभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’ हेर्न दर्शकलाई आग्रह गरिरहेका छन् । सिनेमाका निर्देशक एवं कलाकारहरु शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन् ।

भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर सिनेमाका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचार गरेका हुन् । निर्देशक एवं कलाकारलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो ।

निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै सिनेमा हेर्न आग्रह गरेका थिए । अभिनेता प्रकाश सपूतले चर्चित गीतहरु प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक सिनेमा बनेको बताउँदै माया गरिदिन आग्रह गरे ।

अभिनेत्रीद्धय केकी र वर्षाले दशैंको फेस्टिभल माहोलमा मनछुने सिनेमा आउँदै गरेको भन्दै सबैलाई मनपर्ने विश्वास दिलाए । शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए । फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो ।

वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षाका अलवा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको सिनेमाले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले मिलेर सिनेमाको निर्माण गरेका हुन् ।