‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार भारतबाहेक दुई करोडमा बिक्री

‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार भारतबाहेक दुई करोडमा बिक्री

द सिनेमा टाइम्स
455
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा महाजात्राको विदेश प्रदर्शन अधिकार महंगो मुल्यमा बिक्रि भएको छ । नेपालका राम्रा र प्रतिक्षित सिनेमालाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली सिनेमाको बजार विस्तारका साथै मुनाफा दिने भएको छ ।

यसले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली सिनेमाका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो बनिरहेको छ । नेपाली सिनेमा अहिले विदेशी सिनेमा जसरी नै हलमै दर्शकले हेर्न पाउँछन् ।

दर्शक बढाउने काम केही सिनेमाहरूले गरेका छन् । ती मध्येको एक हो ‘जात्रा’ शृङ्खला । षट्कोण आर्ट्सले निर्माण गरेको सिनेमाहरूले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । यही कारण यो कम्पनिले निर्माण गर्ने आगामी सिनेमा ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार विक्री भईसकेको छ ।

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारत बाहेकको लागि प्रदर्शन अधिकार दुई करोडमा खरिद गरेका छन् । सिनेमाको कथाले पूर्णता नपाउदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए ।

‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य सिनेमाको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहिँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरें’, वितरक थापाले भने, ‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकाँस देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता पनि हो ।’

जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा सिनेमा नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी उनले दिए । वितरक थापाले ‘महाजात्रा’ मार्फत केही देशहरूमा नियमित सिनेमा प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।

विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको सिनेमाको बजार बलियो देखिएको छ । सरल नेपाली सिनेमा हेर्न परिवार नै साथै आउने गरेका छन् । सिनेमाका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।

‘हाम्रो पछिल्लो सिनेमा जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकाँस दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले भने, ‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समुह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।’

आपतकालीन रुपमा आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । सिनेमामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्काका अलवा यसपटक हरिवंश आचार्य जोडिनुभएको छ ।

दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै रेकर्ड बनाइरहेको ‘जात्रा’ शृङ्खलाको आगामी सिनेमा ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेको सिनेमाको छायांकन दशैं लगत्तै सुरु हुनेछ ।