विपिन र सौगातको टकरावमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक

विपिन र सौगातको टकरावमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
483
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कार्तिक ४ अर्थात् बडादशैंको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमा ‘पशुपति प्रसाद’मा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र विपिन कार्कीको टकराव हेर्न पाइएको थियो । ‘पशुपति प्रसाद’ प्रदर्शनमा आएको ७ वर्षपछि प्रदर्शनको तयारीमा रहेको चरित्र केन्द्रित सिक्वेल सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्कीलाई चुनौती दिने पात्रको रुपमा सौगात मल्ल भित्रिएका छन् । सोमबार सार्वजनिक ट्रेलरमा पनि दुई पात्रबीचको टकराव देख्न सकिन्छ ।

सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख भन्ने प्रश्न गर्दै सार्वजनिक भएको ट्रेलरमा भष्मे डन पात्रले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ । उसले आमा-बुबाको बारेमा खोजी पनि गरिरहेको ट्रेलरमा देख्न सकिन्छ । दुर्गा माताको गेटअपमा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको पात्र र भष्मे डनबीचको सामिप्यता र प्रेमले ट्रेलरमा थप रोचकता थपेको महसुु हुन्छ ।

निर्देशक दीपेन्द्र के खनालले सोमबार ट्रेलर रिलिज कार्यक्रममा ‘पशुपति प्रसाद’को बेग्लै लिगेसी रहेको र त्यसमा छेडखानी नगरेको बताएका छन् । उनी भन्छन्, ‘बजार मात्र हेरेर ‘कमर्शलाइज’ गर्नेतर्फ हामी गएका छैनौं । हामीले पूर्ण रुपमा ‘पशुपति प्रसाद’को लिगेसी धान्ने सिनेमा निर्माण गरेका छौं । ‘पशुपति प्रसाद’ भन्ने वितिक्कै दर्शकले कथा र इमोसन बढी खोज्नुहुन्छ । त्यसमा हामी सचेत छौं ।’

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा विपिन, सौगात र स्वस्तिमाका अलवा रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ ।

दर्शकमाझ उच्च हाइप बनाएको टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन छ । लेखक तथा निर्माता लामिछानेले एउटा सार्थक सिक्वेल बनाउने प्रयास गरेको बताएका छन् । ‘पशुपति प्रसाद २’लाई कमाईमा ‘रेकर्ड ब्रेक’ गर्न सक्ने सिनेमाको रुपमा विश्लेषण गरिएको छ ।

निर्माता तथा लेखक लामिछानेलाई हरेक हप्ता रिलिज हुने सिनेमाले रेकर्ड तोड्नु पर्छ भन्ने लाग्ने ट्रेलर रिलिज कार्यक्रममा बताए । उनी भन्छन्, ‘सिनेमाले कमाईमा रेकर्ड बनाउनुपर्छ भनेर दबाब वा चिन्ता चाहिँ हामी लिएर बस्दैनौं । तर, मेरो मान्यता के हो भने हरेक हप्ता रिलिज सिनेमाले ‘रेकर्ड ब्रेक’ गर्नुपर्छ । त्यो भयो भने मात्र इन्डस्ट्री एकदमै राम्रो हुन्छ । यदि हाम्रो सिनेमाले कुनै सिनेमाको ‘रेकर्ड ब्रेक’ र्गयो भने त्यसलाई अर्को सिनेमाले तोडिहाल्नु पर्छ । हरेक हप्ता ‘रेकर्ड ब्रेक’ भयो भने इन्डष्ट्री त्यसै बलियो बनिहाल्छ नि । हरेक हप्ता रिलिज हुने सिनेमाले रेकर्ड ब्रेक व्यापार गरेको खण्डमा चाँडै नेपाली सिनेमाको कलेक्सन पनि करोडबाट अरबमा पुग्छ ।

तस्वीर : ज्ञानु राई