‘पशुपति प्रसाद २’को कथा ‘भष्मे डन’कै वरिपरि घुमेकाले इमोसनको पाटो आइहाल्छ : निर्देशक खनाल

‘पशुपति प्रसाद २’को कथा ‘भष्मे डन’कै वरिपरि घुमेकाले इमोसनको पाटो आइहाल्छ : निर्देशक खनाल

'भष्मे डन' विपिन कार्कीको करियरकै ‘आइकनिक’ मानिन्छ । सिनेमाको हिरो भष्मे डन थिएन । नकारात्मक चरित्र थियो । उसको गेटअप, हिँडाई, बोलाई फरक हुँदा दर्शकले रुचाएका हुन् ।

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्कीलाई ७ वर्षअघि प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद’ले भष्मे डनको परिचय दिएको थियो । उनले सिनेमामा निर्वाह गरेको भष्मे डन पात्र दर्शकले निकै रुचाएका थिए । यो चरित्रलाई विपिन कार्कीको करियरकै ‘आइकनिक’ मानिन्छ । सिनेमाको हिरो भष्मे डन थिएन । नकारात्मक चरित्र थियो । उसको गेटअप, हिँडाई, बोलाई फरक हुँदा दर्शकले रुचाएका हुन् ।

यही ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट दशैंको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आउँदैछ । यो चरित्र केन्द्रित सिक्वेल हो । सिनेमा भष्मे डनको चरित्रमा केन्द्रित भएर निर्माण भएको छ । सिनेमाको सोमबार सार्वजनिक ट्रेलरमा भष्मे डनले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षसँगै उसको ‘इमोसन’ पाटो देखाइएको छ । दोस्रो पार्टमा भष्मे डन सुध्रिएको छ ।

निर्देशक दीपेन्द्र के खनाललाई ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले प्रश्न गरे भष्मे डनलाई सुधारिएछ । दर्शकलाई विग्रिएकै भष्मे डन पो मन पथ्र्यो कि ?’ उनले हरेक मान्छेको दुईटा पाटो हुने र भष्मे डनको पनि दुईटा पाटो रहेकाले उसको ‘इमोसन’ पाटोलाई देखाउन खोजिएको हो । एकछिन कसैको एउटा पाटो देखिँदैमा उसलाई त्यही ठानेर मुल्यांकन गर्न नहुने बताए ।

सिनेमाको कथा भष्मे डनमै केन्द्रित रहेकाले उसको जीवनसँग जोडिएका धेरै कुरा आउने खनालले उल्लेख गरे । ‘कथा नै भष्मे डनको हो । त्यसले गर्दा उनको जीवनसँग जोडिएका धेरै कुरा आइहाल्छ । हरेक मान्छेमा ‘इमोसन’ हुन्छ । किनभने मान्छे जति डरलाग्दो हुन्छ, त्योभन्दा धेरै उसको ‘इमोसन’ हुन्छ । कथा भष्मे डनकै वरिपरि घुमेकाले उसको ‘इमोसन’को पाटो आइहाल्छ,’ उनले भने ।

निर्देशक खनाल अगाडी भन्छन्, ‘हरेक मान्छेको दुईटा पाटो रहन्छ । कसैले देख्छन् त कसैले देख्दैनन् । भष्मे डन पनि दुईटा क्यारेक्टर हो । अनि भष्मे खुडा लिएर हिँड्ने डन पनि हैन । ऊ स-सानो कुरामा रमाई हिँड्ने डन हो । ‘पशुपति प्रसाद’को अन्त्यमा उसको हृदय कस्तो छ भन्ने देखाएका थियौं । यसैले मान्छे जस्तो पनि हुनसक्छ । एउटा पाटो एकछिन देखिँदैमा ऊ त्यही हो भनेर मुल्यांकन गर्नु हुन्न ।’

सिनेमामा विपिनका अलवा  सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।