‘मुम्बई सिनेमा महोत्सव’मा दुई नेपाली सिनेमा ‘द रेड सुटकेस र गुराँस’ छनोट

‘मुम्बई सिनेमा महोत्सव’मा दुई नेपाली सिनेमा ‘द रेड सुटकेस र गुराँस’ छनोट

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतको प्रतिष्ठित ‘मुम्बई सिनेमा महोत्सव’को ‘साउथ एसिया कम्पिटिसन’ विधामा फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र सौरभ राई निर्देशित ‘गुराँस’ गरी दुई नेपाली सिनेमा छनोट भएका छन् । दुईटै सिनेमाको निर्माण कम्पनी आइसफल प्रोडक्सन हो ।

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस अध्यक्ष र एसियाकै धनी मुकेश अम्बानीकी छोरी इशा अम्बानी कार्यकारी निर्देशक रहेका सिनेमा महोत्सवमा आफूले निर्माण गरेका दुवै सिनेमा छनोट भएकोमा निर्माता रामकृष्ण पोखरेलले खुसी व्यक्त गरका छन् । उनले एउटै विधामा आफ्ना दुई सिनेमा प्रतिस्पर्धी रहनु दोहोरो खुसी भएको बताए ।

‘यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा सिनेमामार्फत् नेपालको प्रतिनिधित्व भएको बुझेको छु,’ उनले भने । अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म फेस्टिभल चल्नेछ । आइसफलले श्रीलंकाको सिनेमा काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि विश्वकै प्रतिष्ठित भेनिस सिनेमा महोत्सवमा ‘वल्र्ड प्रिमियर’ भएको थियो ।

त्यसबेला सिनेमाले तीन मिनेटको ‘स्टयान्डिङ ओभेसन’ पाएको थियो । अनि ‘जुरिक सिनेमा महोत्सव’मा पनि छनोट भएको थियो । सिनेमामा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । त्यस्तै, ‘गुराँस’ले यसअघि चेक रिपब्लिकको ‘कार्लोभी भारी इन्टरनेसनल सिनेमा महोत्सव’मा जुरी अवार्ड जितेको थियो ।

सिनेमाको दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान सिनेमा महोत्सवमा पनि प्रिमियर भएको थियो । सिनेमामा मेनुका प्रधान, खगेन्द्र लामिछाने, तुलसी खवासको मुख्य भूमिका रहेको छ । सिनेमामा सुबल केआरको छायांकन छ भने सौरभ राई र अंकिता पुरकायस्थको सम्पादन छ ।