दयाहाङ र मिरुना लिएर ‘लोकल हिरो’ निर्माण गर्दै सरोज न्यौपाने

दयाहाङ र मिरुना लिएर ‘लोकल हिरो’ निर्माण गर्दै सरोज न्यौपाने

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहने सिनेमा ‘लोकल हिरो’को निर्माण घोषणा गरिएको छ । अनन्या फिल्म्सले ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’पछि तेस्रो सिनेमाको रुपमा ‘लोकल हिरो’ निर्माण हुने भएको हो ।

रोमान्टिक कमेडी तथा सोसल ड्रामा जनरामा निर्माण हुने सिनेमालाई विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् । निर्माता सरोज न्यौपानेले सिनेमा आगामी फागुन २५ गते रिलिज हुने बताए । निर्माण कम्पनिले मंगलबार विकास बोर्डबाट सिनेमाको निर्माण इजाजत लिएको छ ।

तिमल्सिनाले बलिउड अभिनेत्री प्रियंका चोपडाको पर्पल पिबल पिक्सर्चले निर्माण गरेको सिनेमा ‘पाहुना : द लिटिल भिजिटर्स’मा संवाद लेखकको रुपमा काम गरेका थिए । साथै ‘जाने तु या जाने ना’ फेम्ड निर्देशक अब्बास टायरवालाको सहायक निर्देशक भएर पनि काम गरेका थिए ।

तिमल्सिनाले फेन्टाम, रिलायन्स, अपालज र जी फाइभजस्ता बलिउड निर्माण कम्पनीसँग सहायक लेखकको रुपमा काम गरेका छन् । राज ऋषिले इरफान खान अभिनित सिनेमा ‘द लन्च बक्स’ निर्देशक रितेश बत्राको सहायक निर्देशकको रुपमा काम गरेका हुन् ।

‘सम्बोधन’पछि अभिनेता दयाहाङ राईले अनन्या फिल्म्ससँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । तिहारलगत्तै छायांकन हुने सिनेमाको बजेट तीन करोड बताइएको छ । सिनेमाको छायांकन काठमाडौं, काभ्रेपलाञ्चोक र झापा जिल्लामा तयारी छ ।

निर्माता न्यौपाने फागुनमा अनमोल केसी र आना शर्माको मुख्य भुमिका रहने सिनेमा ‘जेरी अनटप’को छायांकनको तयारीमा छन् । ‘हामी यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छौं । अन्य कलाकार र टिम केही दिनमा सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी निर्माण टिमले दिएको छ ।