रणवीर कपुरले ‘रामायण’को छायांकन अवधिभर मदिरा र मांसाहारी खाना छाड्ने

रणवीर कपुरले ‘रामायण’को छायांकन अवधिभर मदिरा र मांसाहारी खाना छाड्ने

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुरले ‘रामायण’मा रामको भूमिका निर्वाह गर्नका लागि छायांकन अवधिभर मदिरा र मांसाहारी खाना छाड्ने भएका छन् । नितेश तिवारीको निर्देशनमा निर्माण हुने सिनेमामा भगवान रामको सम्मान स्वरुप यस्तो निर्णय गरेपछि सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ ।

सिनेमामा रामको भूमिकामा रणवीर देखिंदा सीताको भूमिकामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी र रावणको भूमिकामा दक्षिण भारतीय अभिनेता यशले निवार्ह गर्दैछन् । नितेशले सिनेमा ‘रामायण’ निर्माणको घोषणासँगै फ्यान उत्साहित देखिएका छन् ।

बलिउड मिडियाका अनुसार सिनेमाको छायांकन अवधिभर रणवीर मांसाहारी खाना र मदिराबाट पूर्णतः टाढा रहनेछन् । उनी रामजस्तै शुद्ध र स्वच्छ रहेको महसुस गर्न यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रणवीरको यस्तो निर्णयले संस्कृतिको सम्मान भएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

सिनेमा रामायणमा यसअघि सीताको भूमिका बलिउड अभिनेत्री आलिया भट्ले गर्ने बताइएको थियो । तर केही कारण देखाउँदै उनले सिनेमा छाडिन् । ‘आदिपुरुष’मा काम गर्दा प्रभास र ‘ओएमजी २’ मा काम गर्दा अक्षय कुमारले पनि सुटिङ अवधिभर मांसाहारी खाना र मदिरा परित्याग गरेका थिए ।