‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘दुर्गा’ बनेकी स्वस्तिमाको अनुहारमा किन लगाइयो दुई रंग ?

‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘दुर्गा’ बनेकी स्वस्तिमाको अनुहारमा किन लगाइयो दुई रंग ?

उनी भन्छिन्, ‘विशेषगरी हामी अभिनेत्रीहरुका लागि ‘एक्सपेरिमेन्ट’ गरेर वा फरक आयामबाट एकदमै कम रोलहरु लेखिन्छ । मलाई के लाग्छ भने कलाकारभन्दा पनि लेखनमा ‘भर्सटालिटी’ हुनुपर्छ ।’ आफूले ‘एक्सपेरिमेन्ट’वाला रोल निर्देशक दीपेन्द्र के खनालसँग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक ४ गते बडादशैंको फूलपातीदेखि प्रदर्शनमा आउने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को चर्चा यती खेर देशदेखि विदेशसम्म भैरहेको छ ।

सिनेमामा अभिनेत्री खड्का दुर्गा माता बनेकी छन् । अर्थात् उनी दुर्गा माताको गेटअपमा छिन् । दुर्गा माताप्रति हिन्दूहरुको आस्था र विश्वास छ । पशुपति क्षेत्रमा रोजीरोटीका लागि दुर्गा माता बनेर हिँड्ने युवतीको भूमिकामा स्वस्तिमा छिन् ।

स्वस्तिमाको अनुहारमा पहेँलो र रातो रंग पनि मेकअप लगाइएको छ । जबकि, दुर्गा माताको नौंवटा रुपमा कुनै अनुहारमा दुईथरी रंग देखिन्न । सिनेमाको ट्रेलरमा ध्यान दिने हो भने दुर्गा माता बनेकी स्वस्तिाको ६ वटा हात छ । त्यसमध्ये एउटामा उनले डमरु बोकेकी छन् भने त्रिशुलमा पनि डमरु देखिन्छ ।

बजारमा पाइने र इन्टरनेटमा भेटिने तस्विरमा दुर्गा माताले डमरु बोकेको देखिँदैन । न त्रिशुलमै डमरु छ । आखिर सिनेमामा डमरु बोकेकी दुर्गा माता किन देखाइयो ?

खनालले भनेका थिए, ‘ठ्याक्कै डमरु त छैन । त्रिशुलमै ‘अट्याच’ छ । छुट्टै डमरु बोकेको छैन । दुर्गा माताको कुन तस्विरलाई हेरेर स्वस्तिमाले निभाएको क्यारेक्टरलाई डमरु बोकाइयो ? भनेर पत्रकारले प्रश्न गरेका थिए ।

जवाफमा निर्देशक खनालले त्रिशुलमा डमरु जोडिएको विषयमा प्रष्ट पार्दै भनेका थिए, ‘त्रिशुल पनि दुई प्रकारको हुने रहेछ । सङ्घार गर्ने खालको त्रिशुलमा डमरु नहुने रैछ । धार्मिक रुपले बोकेर हिँड्ने त्रिशुलमा डमरु जोडिएको हुने रैछ ।’ उनी सिनेमामा दुर्गा माताको क्यारेक्टर एकदमै संवेदनशील रहेको स्वीकार गर्छन् । तर, धार्मिक आस्थामा चोट पुग्ने गरी केही काम नगरेको उनको भनाई छ ।

‘दुर्गा माता सिनेमाको संवेदनशील क्यारेक्टर हो । तर, हामीले यसको धार्मिक पक्षलाई एकदमै ध्यान दिएका छौं । हामी आफैं हिन्दू भएकाले धार्मिक आस्थामा आघात पुग्ने कुनै काम गरेका छैनौं । यो मात्र एउटा क्यारेक्टरको रुपमा आएको छ । स्वस्तिमाले पनि त्यसलाई निभाउने बेला अध्ययन गरेकी छन्,’ उनले भने ।

स्वस्तिमाले त्रिशुलमा मात्र डमरु छ भनेर प्रष्टीकरण दिएकी थिइन् । यद्यपि, उनले डमरु बोक्नुको कारणबारे भनिन्, ‘दुर्गा माताको पनि फरक-फरक रुप हुने रैछ । यो क्यारेक्टर बनाउँदा ‘सिनेम्याट्रिक’ कुन देख्छ र ‘मेटाफोरिकली’ कस्तो देखिन्छ भनेर ‘स्टडी’ गरेका थियौं । त्यो हिसाबले डमरु बोकेको दुर्गा छानेका हौं ।’ उनले सिनेमामा आफू दुर्गा माता नभई दुर्गा माता बनेको पनि स्पष्ट पारिन् ।

‘सिनेमामा मैले निभाएको क्यारेक्टर दुर्गा माता मात्रै होइन, बनेको हो । दुर्गा माता बनेर बस्ने क्यारेक्टर हो । ऊ आफैंमा दुर्गा माता चाहिँ होइन । पशुपतिमा बस्ने एउटा साधारण युवती दुर्गा माता बनेको हो,’ खड्काले आफ्नो अनुहारमा दुईथरी रंग लगाइनुको कारणबारे पनि प्रष्ट पार्दै भनिन्, ‘मैले निर्वाह गरेको पात्रको अनुहारमा दुईथरी रंग छ । यसले उसको जीवनको दुईवटा पक्षलाई चित्रण गर्छ ।’

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले अगाडी भनिन्, ‘दशैंमा म दुर्गा बनेर आउँदै रहेछु । मेरो लागि यो आफैंमा सुखद् अनुभूति हो । यो चरित्र गर्नु मेरो लागि नयाँ अनुभव थियो । छायांकनको बेला जब म दुर्गाको गेटअपमा हुन्थेँ, त्यसबेला पशुपतिनाथको दर्शन गर्न आउने भारतीयहरुले ‘माता’ भन्दै खुट्टा ढोग्न आउनुहुन्थ्यो । पैसा चढाउनुहुन्थ्यो । मेरो लागि यो एकदमै नयाँ अनुभव थियो ।’

अभिनेत्रीका लागि भनेर ‘एक्सपेरिमेन्ट’ खालको रोल कम लेखिने स्वस्तिमाको बुझाई छ । उनी भन्छिन्, ‘विशेषगरी हामी अभिनेत्रीहरुका लागि ‘एक्सपेरिमेन्ट’ गरेर वा फरक आयामबाट एकदमै कम रोलहरु लेखिन्छ । मलाई के लाग्छ भने कलाकारभन्दा पनि लेखनमा ‘भर्सटालिटी’ हुनुपर्छ ।’ आफूले ‘एक्सपेरिमेन्ट’वाला रोल निर्देशक दीपेन्द्र के खनालसँग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

‘मैले एक्सपेरिमेन्ट खालको रोल निर्देशकमा दीपेन्द्र दाईसँग गरेको छु । ‘भष्मे डन’मा मैले दुर्गा माताको क्यारेक्टर निर्वाह गरेको छु । यो क्यारेक्टर मेरो लागि चुनौतीपूर्ण नै थियो । सिनेमा हेरिसकेपछि कति न्याय गरेछु भन्ने निर्कौल होला । तर, मैले यो क्यारेक्टरमा जति गर्न सकेँ, त्यसको क्रेडिट निर्देशकलाई जान्छ,’ उनले भनिन् । उनले पशुपति प्रसाद २ भष्मे डन आफ्नो लागि एकदमै विशेष रहेको बताउँछिन् ।