विशेष शोमा रुचाइयो ‘परदेशी २’, हरिवशंदेखि मनोज र दीपकसम्मले गरे प्रशंसा

विशेष शोमा रुचाइयो ‘परदेशी २’, हरिवशंदेखि मनोज र दीपकसम्मले गरे प्रशंसा

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’को काठमाडौं नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष शोज राखिएको थियो । जहाँ केही चर्चित सेलिब्रेटीहरु सहभागी थिए । नारायण रायमाझीको तेस्रो निर्देशकीय सिनेमा बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको छ ।

अभिनेता हरिवंश आचार्यले सिननेमाले आफूलाई भावुक बनाएको बताए । उनले भने, ‘सिनेमाले मन, मुटु, दिमाग सबै छोयो । मेरो आँखा रोयो । लोक संस्कृतिले लप्पकै लिपेको छ सिनेमा । यस्तो फ्लेवरको सिनेमा आजकल बन्न कम भएको छ । प्राविधिक पक्षमा पनि सिनेमा सबल छ ।’ यही सिनेमाबाट डेब्यू गरेका गायक प्रकाश सपूतको अभिनयको प्रशंसा गरे ।

‘गीतसंगीतमा राम्रो क्रेज बनाउनुभएको प्रकाश सपूतले एकदमै राम्रो अभिनय गर्नुभएको छ । केकी अधिकारी र वर्षा सिवाकोटीले पनि राम्रो काम गर्नुभएको छ । लोक संस्कृति मन पराउने दर्शकलाई सिनेमा मन पर्नेछ,’ उनले भने । यस्तै, कलाकार दीपकराज गिरीले परदेशिनेहरुको संवेदनालाई सिनेमामा देखाइएको बताउँदै निर्देशक रायमाझीको प्रस्तुतीकरण शैलीको प्रशंसा गरेका छन् ।

उनले भने, ‘नारायण दाईको आफ्नो खालको प्रस्तुतीकरण छ । र, प्रस्तुतीकरणमा उहाँको आफ्नै खालको मौलिकता भेटिन्छ, जुन मसला खालको सिनेमाभन्दा पृथक छ । उहाँले परदेशिनेहरुको संवेदनालाई सिनेमामा व्यक्त गर्नुभएको छ ।’ उनले प्रकाश सपूतको अभिनय हेर्दा पहिलो सिनेमा हो जस्तो नलागेको पनि बताए । उनले गायनसँगै अभिनयमा पनि राम्रो गर्न सक्ने विश्वास गिरीको छ ।

हाँस्य कलाकार मनोज गजुरेलले भने ‘परदेशी २’ नेपाली सिनेमा क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने बताए । सिनेमाले देशको जल्दोबल्दो समस्या बोलेको बताउँदै उनले भने, ‘अहिले देशमा युवाहरु नै भेटिँदैनन् । विदेश पलायन भैरहेका छन् । घरमा पाहुना आउँदा बोल्ने समेत हुँदैनन् । अहिले यो आम नेपालीको पीडा हो । यसलाई सिनेमाले एकदमै मिहीन ढंगले देखाएको छ ।’

लोक गायिका शान्तिश्री परियारले सिनेमाभित्र हाँसो र रोदन दुवै रहेको र आफू कति ठाउँमा गहभरी भएको बताइन् । विशेष शोमा सकारात्मक प्रतिक्रिया मिलेपछि उत्साहित देखिएका निर्देशक रायमाझी र निर्माता राजेश बंशलले सिनेमामा घर-घरको कथा रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । सिनेमाका मुख्य अभिनेता सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी सिनेमालाई रुचाइएकोमा खुसी देखिए ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।