‘परदेशी २’ हेरिरहेका दर्शक भेट्न हलमा प्रकाश, केकी र वर्षा

‘परदेशी २’ हेरिरहेका दर्शक भेट्न हलमा प्रकाश, केकी र वर्षा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’ले दर्शकको राम्रो संख्या हलमा ल्याएको छ । शुक्रबार दिनभर ठीकठाक रहेको सिनेमाको अकुपेन्सी शनिबार समग्रमा ७० प्रतिशतसम्म रहेको थियो ।

आइतबार घटस्थापनाको विदाको फाइदा अनि बलियो ‘वर्ड अफ माउथ’ रहेकाले पनि सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्न सक्नेछ । करिब ७ वर्षअघि रिलिज भएको ‘परदेशी’ बक्सअफिसमा सुपरहिट भएको थियो । यो सिनेमाप्रति दर्शकको आकर्षण कस्तो रहन्छ भन्ने चासो धेरैमा थियो ।

शनिबार काठमाडौंसहित मोफसलका प्रायः मल्टीप्लेक्सहरुमा देखिएको दर्शकको चाप हेर्दा सिनेमाले बलियो विश्वास आर्जन गरेको देखिन्छ । कति दर्शकहरु सिनेमाको नामैले हल पुगेका छन् । सिनेमाले उठाएको विषयवस्तुका कारण पारिवारिक दर्शकहरु हलमा बढी देखिएका छन् । प्रायः आँशु पुस्दै हलबाट निस्किएका छन् ।

शनिबार काठमाडौंका केही हल पुगेका कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटीलाई अंगालो मार्दै रुने दर्शकहरु पनि देखिए । शनिबार हलमा भेटिएका निर्देशक नारायण रायमाझीले हामीसँग दर्शकको साथ पाएको भन्दै खुसी व्यक्त गरे ।

निर्देशक रायमाझि भन्छन्, ‘शनिबार पोखरा, बुटवल, नेपालगञ्ज, चितवनसँगै काठमाडौंका धेरै हल हाउसफुल भए । माउथ पब्लिसिटीले एकदमै राम्रो भैरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो र दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुनेमा हामी विश्वस्त छौं ।’

उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।