अनमोलले सुरु गरे ‘फर्की फर्की’को वर्कसप, जेष्ठ ११ मा हुनेछ रिलिज

अनमोलले सुरु गरे ‘फर्की फर्की’को वर्कसप, जेष्ठ ११ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीले आइतबारबाट नयाँ सिनेमा ‘फर्की फर्की’को वर्कसप ज्वाइन गरेका छन् । सिनेमाको वर्कसप सुरु भएसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

सिनेमाकी मुख्य अभिनेत्री जसिता गुरुङले केही दिनमा वर्कसप ज्वाइन गर्नेछिन् । यतिबेला अनमोलसहित समृद्धि अर्याल, रवि काफ्लेले सिनेमाबारे बुझिरहेका छन् ।

सिनेमालाई गणतन्त्र दिवसको अवसर पारेर २०८१ साल जेठ ११ गतेदेखि रिलिज गर्ने तयारी निर्माताले गरेका छन् । लक्ष्मीपूजाको दिन शुभमुहूर्त गर्दै मंसिर १ गतेदेखि छायांकन सुरु हुने भएको छ ।

प्रेमकथामा आधारित सिनेमाको छायांकन काठमाडौं, पोखरा लगायतका स्थानमा हुने भएको छ । एक रोमान्टिक गीतलाई इण्डोनेसियाको बालीमा सुट गर्ने तयारी छ । अधिकारी र ओमप्रकाश अग्रवालको निर्माणमा बन्ने सिनेमामा निर्देशक सुयोगकै कथा तथा पटकथा रहेको छ ।

सिनेमामा मनोज ओली र रामु न्यौपाने सह-निर्माता छन् । नरेन्द्र मैनालीको छायांकन हुने सिनेमामा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत हुनेछ । ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट सिनेमा बनाएका निर्माता रोहित अधिकारीको ‘फर्की फर्की’ तेस्रो सिनेमा हो । उनले यही बर्ष अन्य दुई सिनेमा ‘बरिष्ठ बलराम’ र अर्को एक अनटाइटल सिनेमा पनि निर्माण तयारी गरी रहेका छन् ।