‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक

द सिनेमा टाइम्स
448
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेममा ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा छायांकन भैरहेका एक सिनेमाको सेटमा पुगेपछिको अवस्था चित्रण गरिएको छ ।

जहाँ अभिनेत्री आँचल शर्माले छायांकन गरिरहेकी हुन्छन् । भष्ममे डनले उनीसँग फोटो खिच्न चाहान्छ, तर प्रोडक्सनले उनलाई फोटो खिच्नबाट रोक्छन् । त्यसपछि भष्मेले आफ्ना केटाहरु बोलाएर छायांकनमा अवरोध गरेको देख्न सकिन्छ । यो सँगै प्रोडक्सन टिमले भष्मेलाई फकाउन सुटिङ अनुमति लिएको कागज पत्रदेखि सवै देखाएको दृश्यले दर्शकलाई उत्साहित बनाउँछ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।