सलमान र कट्रिनाको ‘टाइगर ३’ एक्सन प्रधान ट्रेलर सार्वजनिक

सलमान र कट्रिनाको ‘टाइगर ३’ एक्सन प्रधान ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका रहेको सिनेमा ‘टाइगर ३’को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ । करिब तीन मिनेट लामो ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ ।

सिनेमाको ट्रेलरमा टाइगर पात्रको भूमिकामा देखिएका सलमानसामु दुई चुनौती छन् । परिवार र देश बचाउन उसले दुश्मनसँग गर्नुपरेको संघर्ष चित्रण गरिएको छ । सलमानले बोलेको डायलग छ जबसम्म टाइगर जिउँदो छ, टाइगर हारेको छैन । जसले दर्शकको ध्यान खिच्ने देखिन्छ ।

यशराज फिल्म्सको टाइगर युनिभर्सअन्तर्गतकै सिनेमा हो । सिनेमामा सलमान र कट्रिनाको जबर्जस्त एक्सनले दर्शकलाई आकर्षित गर्न सक्छ । ट्रेलरको अन्तिममा भिलेनको भूमिकामा इमरान हासमी देखिएका छन् । उनी सलमानलाई ‘पाकिस्तानमा स्वागत छ’ भन्दै गरेको दृश्यमा देख्न सकिन्छ ।

टाइगर ३ को ट्रेलरमा देशको रक्षा गर्ने भारतीय जासूस निकाय रअ एजेन्ट अविनाश सिंह राठौर फेरि एक मिसनमा निस्किएका छन्, तर यो मिसन उनको पहिचानको लागि हो । जीवनको २० वर्ष भारतको रक्षामा बिताएका अविनाश अर्थात् टाइगर अहिले देशद्रोही र दुश्मन साबित भएका छन् ।

किन यस्तो भयो र अविनाशले आफ्नो हराएको पहिचान फिर्ता पाउन सक्लान्, त्यो भने दीपावलीमा सिनेमा रिलिज भएपछि मात्र थाहा हुनेछ । यो हिन्दीबाहेक तमिल र तेलुगू भाषामा पनि रिलिज हुँदैछ ।

एक्सन-स्पाइ थ्रिलरलाई मनिष शर्माले निर्देशन गरेका हुन् । आदित्य चोपडाले यशराज ब्यानरमा सिनेमा निर्माण गरेका हुन् । यो सिनेमा सन् २०१२ को ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’को सिक्वेल हो ।