‘टाइगर ३’ दुई दिन पछि सर्दा ‘दिमाग खराब’लाई फाइदा

‘टाइगर ३’ दुई दिन पछि सर्दा ‘दिमाग खराब’लाई फाइदा

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ अहिले विभिन्न कारणले चर्चाको शिखरमा छ । सिनेमाको सार्वजनिक गीत संगीत र टिजरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेका छन् । जसले गर्दा यो सिनेमालाई यसवर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।

यही मितिमा बलिउडको ठूलो सिनेमा ‘टाइगर ३’ दीपावलीको अवसर पारेर प्रदर्शनमा आउँदैछ । अभिनेता सलमान खानको मुख्य भूमिका रहेका कारण सिनेमाको नेपालमा समेत दर्शकमाझ परिचित छ । यसअघि सिनेमालाई निर्माण कम्पनी यशराज फिल्मस्ले नोभेम्बर १० अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, अब यो सिनेमा २ दिन पछि अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने छ ।

बलिउड सिनेमा ‘टाइगर ३’ २ दिन पछि सर्दा सबैभन्दा ठूलो राहत निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई भएको छ । किनकि, यो सिनेमा कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘टाइगर ३’सँग भिड्दा दर्शक त बाँडिन्थे नै, शोमा समेत सिनेमा चेपुवामा पर्न सक्थ्यो । अब दुई दिन कुनै अवरोध हुने छैन । सिनेमाले बम्पर ओपनिङ गरेमा दुई दिनमा नै लगानीको ठूलो हिस्सा उठाउने सम्भावना रहन्छ ।

तेस्रो दिनबाट त्यसै पनि सिनेमा ‘वर्ड अफ माउथ’ले चल्ने हो । ‘दिमाग खराब’को हकमा पनि यही लागू हुनेछ । यद्यपि, तेस्रो दिनदेखि ‘टाइगर ३’ले सिनेमाको ठूलो मात्रामा शो कटौती गर्न सक्छ । दुई दिनपछि आउने ‘टाइगर ३’सँगको भिडन्तका बावजूद ‘दिमाग खराब’ले आफूलाई बक्स अफिसमा सशक्त रुपमा उभ्याउन सकेमा सिनेमा क्षेत्रकै लागि यो एउटा उदाहरण बन्नेछ ।

त्यसो त निश्चल ‘टाइगर ३’सँग एकै मितिमा सिनेमा जुधाउन तयार थिए । यसले गर्दा पनि उनी आफ्नो सिनेमाप्रति पूर्ण विश्वस्त रहेको देखाउँछ । ‘लुट’बाट नेपाली सिनेमाको कथा भन्ने शैली नै परिवर्तन गरेका निश्चलको दर्शकमाझ गजबको क्रेज छ । निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शकमाझ सिनेमाको हाइप गजब बनेको छ । यसले गर्दा ‘दिमाग खराब’को ओपनिङ उच्च हुनसक्ने सम्भावना बलियो छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।