‘पशुपति प्रसाद २ : भष्मे डन’ले पायो उत्साहजनक शो, जान्नुस् कुनमा कति ?

‘पशुपति प्रसाद २ : भष्मे डन’ले पायो उत्साहजनक शो, जान्नुस् कुनमा कति ?

द सिनेमा टाइम्स
560
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार फूलपातीबाट देश तथा विदेशमा एकसाथ रिलिज हुन लागेको ‘पशुपति प्रसाद २ : भष्मे डन’ले नेपाली हलहरुमा उत्साहजनक शोहरु पाएको छ । आजबाट अधिकाशं हलहरुले शो खोलेसँगै सिनेमाले वक्सअफिसमा राम्रो ओपनिङ गर्ने संकेत मिलेको छ।

यो समाचार तयार पार्दासम्म सिनेमाले देशभरमा कुल डेढ सयको हाराहारीमा शो प्राप्त गरेको छ । देशको सबैभन्दा ठूलो हल चेन क्यूएफएक्सले आफ्नो चेनका १० वटा हलमा यो सिनेमालाई ६३ शो उपलब्ध गराएको छ। त्यस्तै, वान सिनेमाज् नयाँ बानेश्वर तथा कालिमाटीले १३ शो दिएको छ भने बिग मुभिजमा ६ शो दिइएको छ । यस्तै, एफक्यूब चाबहिलले ९ शो दिदां आई एन आई सिन्माज् नयाँ बानेश्वरले ५ शो दिएको छ ।

सिनेमाले २ करोडको ओपनिङ गर्ने अनुमान गरिएको छ। कतिपय हलमा शोहरु सोल्डआउट पनि भएका छन् । वैशाखमा रिलिज भएको ‘जारी’ले नेपाली वक्सअफिसमा कब्जा जमाए यता अन्य कुनै सिनेमाले व्यापार गर्न सकेका छैनन् । यस्तोमा यो सिनेमाले त्यो व्यापारको खडेरीलाई परिपूर्ति गर्ने ठानिएको छ। व्यापारिक तथा समीक्षकीय रुपमासमेत सफल सिनेमाको सिक्वलले सो सफलतालाई आत्मसाथ गर्ने अनुमान छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।