‘महाजात्रा’मा भित्रिए दिव्यदेव, गौमाया र शिशिर, कात्तिक १३ बाट छायांकन

‘महाजात्रा’मा भित्रिए दिव्यदेव, गौमाया र शिशिर, कात्तिक १३ बाट छायांकन

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आर्ट्सको व्यानरमा निर्माणमा हुन लागेको सिनेमा ‘महाजात्रा’मा नयाँ कलाकार जोडिएका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि तेस्रो शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडी नै सार्वजनिक भइसकेको छ । अब भने यो शृङ्खलामा अभिनेता दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर वाङ्देल समेत जोडिएका छन् ।

निर्माण टिमका अनुसार उनीहरूले आफ्नो लुक्स टेस्ट गरेर छायांकनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसकेका छन् । सिनेमाका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको बताउँछन् ।

‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खला प्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स-सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने । कात्तिक १३ गतेबाट छायांकन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । यो सिनेमाका अघिल्ला भागले घरेलु सिनेमामा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो । स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समुहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमाया गुरुङले बताइन । उनले भनिन्, ‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु ।’

सिनेमामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ । महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट सिनेमा दिएको कारण षट्कोण आर्ट्सको सिनेमा पनि दर्शकमाझ प्रतीक्षित हुने गरेका छन् ।

सिनेमा छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार मएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । सिनेमा आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।