दीवाकर निर्देशित ‘मायावी’को पहिलो चरणको छायांकन सकियो

दीवाकर निर्देशित ‘मायावी’को पहिलो चरणको छायांकन सकियो

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘मायावी’बाट अभिनेता पल शाह कमब्याक गर्दैछन् । सिनेमामा उनको जोडी अभिनेत्री दीपिका प्रसाईसँग बाँधिएको छ । दशैंका लागि ‘ब्रेक’ लिँदै बुधबारबाट सिनेमाको पहिलो चरणको छायांकन सकिएको छ ।

दशैंलगत्तै पोखरा र भारतको बैंग्लोर तथा मुम्बईमा दोस्रो चरणको छायांकन हुने जानकारी निर्माण टिमले दिएको छ । लभस्टोरी सिनेमामा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् । पहिलो चरणको छायांकन राम्रोसँग सकिएको उनले बताए । ‘मायावी’ले पललाई करिअरमा नयाँ उचाई दिने उनको दाबी छ ।

सिनेमामा पल र दीपिकाका अलवा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईको पनि अभिनय रहेको सिनेमामा राज कटुवाल र चन्द्र पन्त निर्मातामा छन् ।

प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन् । सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् । क्रियटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ ।

सिनेमाको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ । दोस्रो चरणको छायांकन सकिएपछि सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।