किन बनाइयो ‘भष्मे डन’? के भन्छन् निर्देशक खनाल ?

किन बनाइयो ‘भष्मे डन’? के भन्छन् निर्देशक खनाल ?

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – झण्डै साढे सात वर्ष अगाडि रिलिज हुँदा दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ले के-कति उचाइ प्राप्त गर्ला भनेर निर्देशक खनाललाई स्वयंमलाई डर पनी थियो । रिलिजपछि यसले नेपाली सिनेमामामा बेग्लै वजन र आयतन स्थापित गर्‍यो । दर्शकहरुको माझ सिनेमा जिवित बन्यो नै केही पात्रहरुले पनि राम्रै स्थान जमाए । कलाकारमा अब्बल दरिएका अभिनेता विपिन कार्कीको चर्चालाई यो सिनेमामा उनले निर्वाह गरेको ‘भष्मे डन’को चरित्रले आमदर्शकमा लोकप्रिय बनाइदियो। त्यसयता उनको करियरको ग्राफ उकालो लागेको लाग्यै छ।

अब उनको यही लोकप्रिय चरित्रमाथि निर्देशक खनाल र लेखक-निर्माता खगेन्द्र लामिछानेको जोडीले ‘पशुपति प्रसाद २ : भष्मे डन’ बनाएका छन् । सिनेमा फूलपातीको दिन नेपाल तथा डायस्पोरामा एकसाथ रिलिज हुँदैछ।
यसै सन्द्रभमा हामीले निर्देशक खनाललाई धमाधम सिक्वल सिनेमाहरु वक्सअफिसमा पैसा छापिरहेको मेलोमा तपाईंहरुले पनि त्यही पदचाप पछ्याउनु भएको हो भनेर सोधेका थियौं । उनले यसलाई नकारे ।

‘पैसा कमाउनकै लागि मात्र भए साढे ७ वर्ष लाग्दैन् थियो होला । जहिले पनि ‘पशुपति प्रसाद’ भन्ने बित्तिकै एकदमै मनमा बसेको र दर्शकले उत्तिकै चाहने सिनेमा हो । अनि यसको सिक्वेल बनाउने कुरामा हामी एकदम राम्रो सिक्वेल बनाउनुपर्छ, अन्यथा नबनाऔं भन्ने पक्षमा थियौं र छौं पनि । त्यही अनुरुप ७ वर्षको दौरान धेरै कथा बुनियो, धेरै ड्राफ्टहरु बने, स्कृप्ट मात्रै ३/४ वटा बने ‘, उनले सिनेमा निर्माणको आफूहरुको अन्तरनिहीत चाहाना खुलाउँदै भने, ‘त्यसमा कन्भिन्स नहुँदानहुँदा फाइनल्ली यो चाँहि राम्रो सिनेमा बन्न सक्छ र यसले ‘पशुपति प्रसाद’को लिगेसी बोक्छ भन्ने कन्फिडेन्ट भएपछि यसको निर्माण सुरु भएको हो । नितान्त राम्रो सिनेमा आउनुपर्छ भन्ने हाम्रो धारणा हो । अरु त्यस्तो केही होइन् ।’

यसैगरी खनालले सिनेमा स्पिनअफ र सिक्वल दुबै नभएको बरु ‘पशुपति प्रसाद’को एउटा युबिभर्सका रुपमा बुझ्न आग्रह गरे । ‘यो स्पिनअफ पनि होइन र सिक्वेल पनि होइन। सिक्वेल भन्दा फेरी सम्पूर्ण चिज जस्ताको त्यस्तै हुनुपर्छ भन्ने होला फेरी स्पिनअफ भन्दा एउटा मात्रै क्यारेक्टर भन्ने होला । त्यही भएर अरु क्यारेक्टरहरु पनि कसरी त्यसमा जोडिएका छन् । कसरी बुनिएको छ भन्न त सिनेमा हेरेपछि थाहा होला’, उनले भने ।

उनी यसलाई भष्मे डनको यात्राको श्रृखंला भन्न रुचाउँछन् । ‘मैले ठ्याक्कै भन्नु पर्दा भष्मे डन जहाँ छोडिएको थियो । त्यसपछि भष्मे डनको यात्राको शृङ्खला हो । किनभने धेरै कुरा ‘पशुपति प्रसाद’को आएको थियो भष्मे डनको आएको थिएन। भष्मे डन भन्ने पात्र को हो ? कहाँबाट आयो ? किन आयो ? कस्तो मान्छे हो ? ‘पशुपति प्रसाद २ भष्मे डन’मा त्यही देखाइएको छ ।’

यसैगरी उनले आफूहरु बजारमुक्त भएको राम्रो सिनेमामा बनाउनुपर्छ भन्ने सोचले यो सिनेमा निर्माण गरेको हो। यो कुरा सिनेमा सार्वजनिक भएपछि पुष्टि हुने उनको भनाइ छ। ‘हामीले बजारमुखी भएर बजारलाई यो मन पर्छ यो बेच्नुपर्छ भन्ने हिसाबले पशुपतिलाई बिगार्ने अथावा त्यसको कुनै कुरामा छेडखानी गर्ने प्रयास गरेका छैनौं । अब त्यो फिल्म हेर्दा थाहा होला हामीले के गरेका छौं, कतिसम्म गरेका छौं’, खनालले भने ।