दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज

दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज

द सिनेमा टाइम्स
714
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

सिनेमाको निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ । रिलिज अगाडी नै विभिन्न देशमा प्रदर्शन भैसकेको सिनेमा अब तोकेकै मितिमा प्रदर्शनमा आउने निर्देशक माओत्से गुरुङले बताए ।

अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । उनले यसअघि तीन पटक सिनेमाको रिलिज मिति घोषणा गरेर पोष्टपोण्ड गरेका थिए । सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्ने निर्देशक गुरुङले एक कार्यक्रममा बताएका थिए । सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।