युनेस्कोको ‘सिनेमाको रचनात्मक सहर’को सूचीमा काठमाडौं

युनेस्कोको ‘सिनेमाको रचनात्मक सहर’को सूचीमा काठमाडौं

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालको राजधानी काठमाडौं सहरलाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘सिनेमाको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । काठमाडौं सहितका संसारका ५५ शहरलाई विश्व सहर दिवसको अवसरमा क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको जानकारी युनेस्कोले दिएको छ ।

सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहरलाई युनेस्कोले सूचीकृत गरेको हो । शिल्प र लोककला, डिजाइन, सिनेमा, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश यी रचनात्मक क्षेत्रमा छन् ।

युनेस्कोका महानिर्देशक अड्रे अजौलेले संस्कृति र सिर्जनालाई विकास रणनीतिको रुपमा आत्मसात गर्ने र मानव केन्द्रित सहरी योजनामा नवीन अभ्यास प्रदर्शन गर्ने प्रतिबद्धतासहित यी नयाँ सहरलाई सूचीकृत गरिएको जनाएका छन् ।

युनेस्कोले सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने समेत जनाएको छ । जसमा सन् २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने उल्लेख छ ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंलाई सिनेमाको रचनात्मक सहरको रुपमा विकास गर्ने बताएका थिए । ‘संस्कृतिमा पहुँच बढाउने, सहरी लचिलोपन र विकासको लागि रचनात्मकताको शक्ति बढाउने सन्दर्भमा हाम्रो क्रिएटिभ सिटीज नेटवर्कका सहरले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्’, युनेस्कोका महानिर्देशक अड्रे अजौले भन्छन् ।