धमाधम काठमाडौंको विभिन्न स्थानमा ‘महाजात्रा’को छायांकन गरिँदै

धमाधम काठमाडौंको विभिन्न स्थानमा ‘महाजात्रा’को छायांकन गरिँदै

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आर्ट्सको लगानीमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात यतीबेला तेस्रो शृङ्खला ‘महाजात्रा’को छायांकन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायांकन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।

सिनेमाका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायांकनमा व्यस्त छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने सिनेमाको छायांकन बुधवार नरदेवीमा गरियो ।

निर्देशक प्रदीप भट्टराईले योजना अनुरुप नै छायांकन भईरहेको बताए । उनले भने, ‘हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ ।’ उनको निर्देशकीय शैली र कौसलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुशी देखिन्थे ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ । हासो र रोदनको मिश्रण रहेको सिनेमाको छायांकनमा व्यस्त रहेका अभिनेता विपिन कार्कीले छायांकनमा रमाइलो भईरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौँ । अधिकाँसलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने ।

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शक अनुरुप नै प्रस्तुत गर्ने बताए । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भईरहेको सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग अभिनेताको रुपमा जोडिएका छन् । सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ सिनेमाको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ । आगामी चैत ९ गतेबाट सिनेमा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।