‘पर्खी बसें तिमीलाई’को गीत ‘कालो चस्मा लाउ है माया’ रिलिज

‘पर्खी बसें तिमीलाई’को गीत ‘कालो चस्मा लाउ है माया’ रिलिज

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कालजयी गीत ‘कालो चस्मा लाउ है मैया’को रीमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठ निर्देशित सिनेमा ‘पर्खी बसें तिमीलाई’मा उक्त गीतलाई रिमेक गरेर समावेश गरिएको हो । यो गीत सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले सिनेमा आगामी पौष २७ मा प्रदर्शन गरिने जानकारी बताए ।

‘यो विसुद्ध प्रेम कथानक सिनेमा हो । त्यसैले यसको सुरुआत गीतमार्फत गरेका छौँ’, निर्देशक श्रेष्ठले भने, ‘पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई सिनेमा उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’

यो सिनेमाबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । उनीहरूले अभिनय सिकेर सिनेमामा डेब्यु गर्न लागेका हुन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताइन । ‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाए । पाउने प्रतिक्रियाको पर्खाइमा छु’, रक्षाले भनिन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।

सार्वजनिक गीत ‘कालो चस्मा’ सिनेमा ‘बादलपारी’मा समावेश लोकप्रिय गीत हो । यसको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् । पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् ।

निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए । ‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई, मनिष श्रेष्ठ र अनिशा रसाइली लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमामा राजाराम बुढाथोकीको निर्माण तथा कोमल गुरुङको सह-निर्माण रहेको छ ।

परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन रहेको सिनेमामा संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले सिनेमाको वितरण गर्ने जिम्मेवारी लिएका छन् ।