anmol jasita

सन्तोष सेनको निर्देशनमा निर्माण हुने ‘बलिदान’को प्रि-टिजर रिलिज

सन्तोष सेनको निर्देशनमा निर्माण हुने ‘बलिदान’को प्रि-टिजर रिलिज

द सिनेमा टाइम्स
749
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन्तोष सेनको निर्देशनमा निर्माण हुने सिनेमा ‘बलिदान’को टिजर रिलिज भएको छ । छायांकनमा जानु अगावै सिनेमाको टिजर रिलिज गरिएको हो । सार्वजनिक टिजरलाई निर्माण टिमले प्रि-टिजर नाम दिएको छ ।

आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिंग’ बताउँछन् । टिजर रिलिज गरिएता पनि सिनेमाका कलाकार तथा प्राविधिक को-को रहने केही खुलाइएको छैन् । दोस्रो चरणमा कलाकार र प्राविधिकबारे जानकारी दिने निर्देशक सेनले बताए ।

सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक्सन प्रधान हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । १ मिनेट १४ सेकेन्ड लामो टिजरका दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ । देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारबाट मुक्ति पाउन देशको झन्डा र हतियारसहित प्रकट भएको हिरोलाई टिजरमा देखाइएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो सिनेमा रहने निर्देशक सेनले बताए । ‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाई गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौं । त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौं’, सेनले बताए ।

सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहने सिनेमाको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहनेछन् ।