‘दुई कदम’को ‘ए मेरा बाबै नि’मा वर्षासँग डान्सिङ मुडमा इओन

‘दुई कदम’को ‘ए मेरा बाबै नि’मा वर्षासँग डान्सिङ मुडमा इओन

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’को एक गीत दुई दिन लगाएर काठमाडौंको ठमेलस्थित १० एक्स क्लबमा छायांकन गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको डान्सिङ गीतमा सिनेमाका मुख्य अभिनेता इओन लिम्बु र अभिनेत्री वर्षा सिवाकोटीले नृत्य गरेका छन् ।

उदय सुब्बा निर्देशित सिनेमाको यो गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द रचना र आशिषको संगीत छ । आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी तथा सौरभ लामाको छायांकन छ ।

अभिनेत्री वर्षा सिवाकोटीले गीत राम्रो लागेपछि काम गरेको बताइन् । यो गीतले राम्रो चर्चा पाउने उनको विश्वास छ । इओन भने वर्षासँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छन् ।

सिनेमामा इओनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, सिमोन गिरी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी छ । दयाराम घिमिरेको कथा र पटकथा रहेको सिनेमाका छायाँकार विक्रम डिसी हुन् । निर्देशक सुब्बाले सिनेमाले प्रेमकथासँगै सामाजिक विषय उठान गरेको बताए । सिनेमा राम्रो बनेको दाबी निर्देशकको छ ।

सिनेमामा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको रचना, राजु किराँतीको द्वन्द्व निर्देशन, कविराजसँगै रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ । एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले सिनेमाको वितरण अधिकार लिएका छन् ।