‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको मागमा प्रदर्शक र निर्माताबीच सहमति

‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको मागमा प्रदर्शक र निर्माताबीच सहमति

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले सिनेमा हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र हलवालाको छाता संस्था नेपाल चलचित्र संघ सहमत भएको छ ।

नेपाली सिनेमाले अबदेखि हलमा प्रदर्शन भैइन्जेल ५० प्रतिशत सेयर पाउने भएका हुन् । जसले नेपाली सिनेमाका निर्मातालाई ठूलो राहत पुग्ने देखिएको छ । यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०र५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर, तेस्रो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे । जसले गर्दा राम्रो व्यापार गर्ने सिनेमाका निर्मातालाई ठूलो घाटा भैरहेको थियो ।

‘दिमाग खराब’का निर्माताले सिनेमा हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए । यसपछि संघले सिनेमाका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्नका लागि वार्ता टोली नै गठन गरेको थियो ।

तीन दिनको छलफलपछि नेपाली सिनेमालाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो । सेयर बाँडफाँडको विशेषमा सहमति जुटेसँगै अब ‘दिमाग खराब’को प्रदर्शन यथावत् रहने भएको छ । अहिले सिनेमाले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ ।

सेयर बाँडफाँडसँगै हलमा ट्रेलर तथा पोस्टर लगायतका प्रचार सामाग्रीको प्रयोगको विषयमा पनि चलचित्र संघ र निर्माता संघबीच विशेष सहमति भएको बताइएको छ । दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँड, हलमा ट्रेलरको प्रयोग आदि विषयमा लामो समयदेखि विवाद देखिँदै आएको थियो । आजबाट त्यसको अन्त्य भएको दुवै संस्थाले जानकारी दिएका छन् ।