तेस्रो हप्तामा ‘दिमाग खराब’, दुई हप्तामा कति कमायो ?

तेस्रो हप्तामा ‘दिमाग खराब’, दुई हप्तामा कति कमायो ?

द सिनेमा टाइम्स
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ । दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमा राम्रो शो सङ्ख्या र दर्शक अकुपेन्सी सहित तेस्रो सातामा प्रवेश गरेको हो ।

गत कात्तिक २४ गतेबाट नेपाल र विदेशबाट एकसाथ प्रदर्शनमा आएको सिनेमाको निर्माण टिमले पहिलो हप्ताको अन्तिमबाट विदेशी सिनेमाको कारण राम्रो दर्शक पाउँदा पनि हल सञ्चालकबाट आफुहरु अन्यायमा परेको भन्दै सिनेमा चलुञ्जेल ५० प्रतिशत सेयर तथा विदेशी सिनेमा बराबर शो नपाए दिमाग खराबको प्रदर्शन रोक्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच निरन्तर छलफल गर्दै हिजो बिहीबार सिनेमाको निर्माण टिमले उठाएको मागमा सहमती भएपछि तेस्रो सातामा निरन्तरता पाएको हो । सिनेमाको निर्माण टिमले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेसँगै ‘दिमाग खराब’को २ हप्तामा बक्सअफिस कलेक्सन रिर्पोट पनि सार्वजनिक गरेको छ ।

रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’ले ११ औं दिनसम्म आइपुग्दा ७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । आफूहरुले वितरकबाट प्राप्त गरेको डिसीआर (डेल्ली सेल्स रिपोर्ट) अनुसार सिनेमाले ७ करोड ग्रस गरेको बताए । उनले भने, ‘अहिले पनि हलहरुमा अकुपेन्सी राम्रो छ । वितरकले दिनुभएको डिसीआर रिपोर्ट अनुसार सिनेमा ७ करोड ग्रस गरेको हो ।’ तेस्रो हप्ता पनि फिल्मले ५० प्रतिशत शेयर पाउने भएपछि निर्माताको नेट आन्दानी पनि बढ्ने कँडेलको विश्वास छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।