अनमोल र जसिता स्टारर ‘फर्की फर्की’को शुभमुहूर्त, मंसिर ११ बाट छायांकन

अनमोल र जसिता स्टारर ‘फर्की फर्की’को शुभमुहूर्त, मंसिर ११ बाट छायांकन

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भूमिका रहने सिनेमा ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । मंसिर ११ गते तालनगरी पोखराबाट छायांकन सुरु हुने सिनेमाको आज क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको हो ।

अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ । आउँदो बर्षको जेठ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमालाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यसअघि उनले सिनेमा ‘सानो मन’को निर्देशन गरेका थिए ।

रोहित अधिकारी र ओम अग्रवालको लगानी रहने सिनेमामा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ आदिको पनि अभिनय रहनेछ । अनीरुद्र गिरी कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा मनोज वली र रामु न्यौपाने छन् ।

अनमोलले ‘फर्की फर्की’को शुभमुहूर्त समारोहमा सिनेमा टेबलमै तयार भैसकेको बताए । उनले भने, ‘सिनेमा भनेको टेबलमा बन्छ । यो सिनेमा पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभस्टोरी सिनेमामा फरक स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’ लभस्टोरी सिनेमामा अनमोलसँग काम गर्नका लागि आफू उत्साहित रहेको अभिनेत्री जसिता गुरुङले बताइन् ।

सिनेमामा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निर्देशक गुरुङ स्वयंको कथा तथा पटकथा लेखन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको गीतमा कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रोडक्शन डिजाइनरमा शंकर पाण्डे रहेका छन् ।