‘चित्रा’मा अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ : सन्तोष अधिकारी

‘चित्रा’मा अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ : सन्तोष अधिकारी

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्माणमा सक्रिय सन्तोष अधिकारीले अभिनयमा डेब्यू गर्न लागेको ‘चित्रा’को पहिलो गीत रिलिज कार्यक्रममा पैसा हालेर हिरो बन्न आउनु भएको हो ? भन्ने प्रश्नको सामना गरेका थिए ।

दिपेन्द्र के खनाल निर्देशित ‘आमा’सहित अर्पण थापा निर्देशित ‘घर’ तथा ‘तीन जन्तु’मा सह-निर्माता बनेका सन्तोषलाई यो प्रश्न अपेक्षाकृति थियो । पोखरामा जन्मिएर अष्ट्रेलियामा कर्म गरिरहेका सन्तोष थुप्रै इभेन्टका आयोजक हुन् । उनले नेपालसँगै अष्ट्रेलियामा थुप्रै फेसन शो सहितका इभेन्टहरु गरिसकेका छन् ।

‘मैले कसैको निर्माण कम्पनीमा गएर मेरो पैसा यति छ, त्यो तपाईहरुलाई दिन्छु, कृपया हजुरको सिनेमामा मलाई रोल दिनु भनेर काम गरेको छैन । त्यसलाई चाहिँ पैसा हालेर सिनेमा खेलेको भनिन्छ’, उनले भने ।

घनश्याम लामिछाने निर्देशित तथा उनी अभिनित ‘चित्रा’ पौष २७ गतेबाट रिलिज हुँदैछ । सिनेमाबाट उनी आशावादी छन् । उनी हुन त पैसा भएका मानिस हुन तर लहड, रहर र पैसाको बलमा सिनेमा खेल्न आएका हैनन् । उनले पर्दामा पैसा हालेको कलाकार भन्दा पनि कलाकार देखिउँ भन्नका तयारी गरेरै आएका हुन् ।

अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ । उनी अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलका विद्यार्थी हुन् । उनले त्यही नै आफ्नो अभिनयको कखरा सिके, त्यहाँको अर्न्तराष्ट्रिय सिकाइले उनलाई ‘चित्रा’ गर्ने आत्मविश्वासको जरा हालिदिएको हो, अब उनी त्यस्मा बलियो गरी खडा हुने सोचमा छन् ।

‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गर्छ । सामाजिक कथामा एक्सन र ड्रामालाई प्रस्तुत गरिएको छ । सिनेमाले हरेक घरको कथा भन्ने सन्तोष बताउँछन् । हरेक घरको कथा भएकाले दर्शकले सिनेमालाई माया गर्नेमा उनी ढुक्क छन् ।

‘चित्रा’मा सन्तोषका अलवा मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् । महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । सिनेमाको अष्ट्रेलियाको रिलिज अधिकार अविनास रोका मगरले किनेका छन् ।