‘वान् सिनेमाज्’ले १६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ देखाएपछि कारबाही सिफारिस

‘वान् सिनेमाज्’ले १६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ देखाएपछि कारबाही सिफारिस

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘एनिमल’ले भारतसँगै नेपालमा पनि एडल्ट सर्फिफिकेट पाएको थियो । चलचित्र विकास बोर्डले काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’ले १६ वर्षभन्दा मुनिका दर्शकलाई देखाएपछि कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

सोमबार प्राप्त सूचनाको आधारमा तीन जना बोर्ड सदस्यसहितको टोली चेकजाँचका लागि हलको अनुगमनमा पुगेको थियो । बोर्ड सदस्यहरु राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो ।

यसपछि हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो । ‘एडल्ड’ प्रमाणपत्र प्राप्त गरेको सिनेमा १६ वर्षमुनिका बालबालिकालाई देखाउनु गैर कानुनी मानिन्छ । बालबालिकाहरुलाई ‘एडल्ट’ सिनेमाको टिकट बिक्री नगर्न बोर्डले हल सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

कानुनविपरीत बालबालिकालाई एडल्ट सिनेमाको टिकट बिक्री गरिएको पाइए हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने अनुगमन समितिका संयोजक राजु केसीले बताए । त्यसो त ‘एनिमल’लाई एडल्ट प्रमाणपत्रको नाममा नेपालको सेन्सर बोर्डले धेरै दृश्यमा आँखा चिम्लिएको भन्दै आलोचना पनि भैरहेको छ ।

‘वान् सिनेमाज्’ले एडल्ट प्रमाणपत्र पाएको ‘एनिमल’ बालबालिकालाई देखाएको घटनाबारे थप अनुसन्धान गरेर बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भैरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।