रणवीर कपूरको ‘एनिमल’ले ६ दिनमा विश्वभरबाट कमायो ५ सय २७ करोड ग्रस

रणवीर कपूरको ‘एनिमल’ले ६ दिनमा विश्वभरबाट कमायो ५ सय २७ करोड ग्रस

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपूरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’ले बक्स अफिसमा बम्पर व्यपार गरिरहेको छ । रिलिजको पहिलो दिन नै ५४ करोड ७५ लाखको ओपनिङ गरेको सिनेमाले ६ दिनमा विश्वभरबाट ५ सय २७ करोडमाथि कमाएको हो ।

दोस्रो दिन ५८ करोड ३७ लाख कमाएको सिनेमाले तेस्रो दिन ६३ करोड ४६ लाख, चौंथो दिन ४० करोड ६ लाख, पाँचौं दिन ३४ करोड २ लाख र छौटौं दिनमा २७ करोड ८० लाख कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । ‘एनिमल’ बलिउडकै इतिहासमा तेस्रो ठूलो बक्सअफिस कलेक्सन गर्ने सिनेमा बनेको छ ।

हिन्दी भाषामा मात्रै ६ दिनमा २ सय ६८ करोड ४६ लाख भारु कमाई गरेको छ । साउथ इन्डियन भाषाको कलेक्सन पनि जोड्ने हो भने सिनेमाले ६ दिनमा ३ सय १४ करोड ५० लाख भारु कमाएको छ । सिनेमाको व्यापारलाई ट्रेड एनालिस्ट आदर्शले तुफानको संज्ञा दिएका छन् ।

सिनेमाको ‘वर्ड अफ माउथ’ राम्रै रहेकाले एक हप्तामै हिन्दी बेल्टमा मात्रै साढे ३ सय करोडको आँकडा नाघ्ने देखिन्छ । सिनेमालाई ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन् । रणवीरको एक्सन र अभिनयको प्रशंसा भइरहेको छ । तर, कथावाचनमा सिनेमा चुकेको भन्दै समीक्षकले आलोचना गरेका छन् । सिनेमाको पहिलो हाफ सशक्त छ । मध्यान्तरपछि भने औसत छ ।

टिसिरिज र भद्रकाली पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा अनिल कपूर, बबी देओल, रश्मिका मन्दाना, तृप्ति डिमरी लगायतले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । ‘एनिमल’सँगै रिलिज भएको अर्को बलिउड सिनेमा ‘सामबहादुर’ बक्सअफिसमा असफल भएको छ ।