द सिनेमा टाइम्स, काठमाडौं – टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक भएको छ ।
निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । सिनेमा आगामी वर्षको जेठ १८ मा रिलिज हुने भएको छ। सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन् ।
‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका लागि अत्याधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो सिनेमा हो । उनले बनाएको दोश्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।
टोरोन्टो फिल्म फेस्टिवलका अलावा बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो सिनेमाले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ ।
सिनेमाको पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् । मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।
सिनेमाले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ ।
सिनेमाले मूलपात्रले पछ्याउँदै आएको परप्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने कदममा सिनेमाको कथा प्रस्तुत भएको छ । यसलाई बाबुआमासँगै उनीहरुको छोराले यो बदलिएको परिस्थितिमा नयाँ संसार कसरी चिहाउँदैछ र उसका सपना केकस्ता हुँदैछन् भन्ने कथालाई रोचक ढंगले भनेको छ ।
सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् । अमेरिकी छायाँकार मार्किन कापरोनले सिनेमाको छायांकन गरेका हुन् । फिल्म फेस्टीवलहरुमा प्रशंसा बटुलेको यो सिनेमा आगामी वर्षका लागि एउटा प्रतिक्षित सिनेमा हो ।
प्रतिक्रिया