काठमाडौंमा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ हुने

काठमाडौंमा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ हुने

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंमा मंसिर २३ गतेदेखि ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ हुने भएको छ । मानव अधिकार सिनेमा केन्द्रको आयोजनामा महोत्सवको ११औं संस्कारण मंसिर २६ गतेसम्म प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजना हुने जनाइएको छ ।

यसपटक महोत्सवको नारा भने ‘सामूहिक अधिकार’ भन्ने छ । महोत्सवको सुरुवात सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’बाट गरिनेछ । विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा सिनेमाहरु महोत्सवमा प्रदर्शन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

महोत्सवमा मानव अधिकारका विषयमा निर्माण भएका फिचर र छोटा सिनेमा तथा वृत्तचित्रहरु मात्र प्रदर्शन गरिनेछ । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् ।

जुरीबाट छानिएका उत्कृष्ट पाँच सिनेमाहरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित महोत्सवमा पुरस्कार प्रदान गरिनेछ भने एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पुरस्कृत पनि गरिनेछ ।

यस वर्ष महोत्सवका लागि ८७ देशबाट ९ सय ज्यादा सिनेमाको आवेदन परेको थियो । महोत्सवमा सिनेमा प्रदर्शनका अलवा सिनेमाकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस पनि हुनेछ । महोत्सव निर्देशक खत्री महोत्सवले नेपाली सिनेमा र सिनेमाकर्मीलाई ‘एक्सपोजर’को अवसरसँगै मानव अधिकारको विषयलाई सशक्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।