अभिनयमा फर्किए भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे

अभिनयमा फर्किए भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे सिनेमाको काममा फर्किएका छन्।

उनी कार्तिक १० गते घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । आजबाट उनले ‘महाजात्रा’को सुटिङ सुरु गरेका छन् । हाल सिनेमाको बुढालिनकण्ठमा धमाधम छायाँकन चलिरहेको छ ।

‘जात्रा’को पहिलो श्रृंखलादेखि नै उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । ‘चिकित्सकको सल्लाह अनुसार आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने ।

अहिले घिमिरे र हरिवंश आचार्यको भागको दृश्य छायांकन सुरु भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको पनि अभिनय समावेश छ ।

प्रदिप भट्टराईको निर्देशनमा बनिरहेको ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ। सिनेमाको निर्माता म्याक्स दीपेश खत्री र कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ छन् ।

सिनेमाको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्धन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपकप्रताप अधिकारी र भारत बाहेकको विदेश रिलिज एमएसएम इन्टरटेनमेन्टले गर्नेछ ।