बाफ्टामा हलिउड सिनेमासँग प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

बाफ्टामा हलिउड सिनेमासँग प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित नेपाली सिनेमा ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाईरहेको छ । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली सिनेमाको स्तरीयता र महत्व दर्शाउन सफल सिनेमाले पुनः नयाँ इतिहास बनाएको छ ।

यो सिनेमा पहिलोपटक ब्रिटिस एकेडेमी सिनेमा एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ । अर्थात् नेपाली भाषाको सिनेमाले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो । निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन सार्वजनिक हुने जानकारी दिए ।

‘हाम्रो विषय र कलाकार विश्वका ठुला सिनेमासँग प्रतिष्पर्धा गर्न उभिनु नै हाम्रो जीत हो । हाम्रो विषयलाई विश्वले कति प्राथमिकता दिन्छ भन्ने तथ्यलाई गोर्खा वारियरले प्रस्ट्याईरहेको छ’, निर्देशक चाम्सले भने ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो सिनेमा नेपाल भन्दा विदेशमा बढी चर्चित छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।

यही कारण बाफ्टामा सिनेमाले प्रवेश पाएको हो । निर्देशक चाम्सले बेलायतमा रहेको लन्डन सिनेआई प्रोडक्सन भएको कारण पनि बाफ्टामा प्रवेश पाईएको बताए । ‘हामी सफल हुनु वा असफल हुनु फरक पाटो हो । हामीले हाम्रो सिनेमाको स्तरीयता र विषयलाई त्यहाँ पुर्याएका छौं । आउँदो समयमा नेपाली सिनेमालाई हेर्ने शैलीमा बाफ्टामा भिन्नता हुनेछ’, निर्देशक चाम्सले भने ।

गोर्खा वारियरले हलिउडका प्रसिद्ध सिनेमाहरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता सिनेमासँग प्रतिष्पर्धा गरिरहेको छ । सिनेमाका अभिनेता रितेश चाम्सका यी सिनेमाका अभिनेता प्रतिष्पर्धामा छन् ।

अभिनेता रितेश चाम्सले पहिलो सिनेमामार्फत नै यस किसिमको चर्चा पाउनु सपना झैँ महसुश भएको बताए । उनले भने, ‘हाम्रो सिनेमाले पाइरहेको सम्मान र बनाईरहेको इतिहास मेरा लागि सोच भन्दा निकै माथि छ । अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरलाई दिइएको स्थानले गोर्खाली प्रतिको सम्मान झल्काउँछ । डेब्यु सिनेमा नै मिलन चाम्स जस्तो राष्ट्रिय पुरस्कार विजेता निर्देशकसँग काम गर्न पाए । उहाँकै कारण यो सफलता सम्भव भएको हो ।’

हलिउड र बलिउडका ठूला स्टारको सिनेमा प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली सिनेमाको पहिलोपटक प्रिमियर भएको हो । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको सिनेमामा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । कार्याकारी निर्मातामा प्रशान्त थापा रहेको सिनेमाका सह-निर्माता सुरेश राई हुन् ।