सकियो ११ औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’

सकियो ११ औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ११औँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा ‘नो विन्टर होलिडेज्’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ ।

राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज्’ले यो अवार्ड जितेको हो । विभिन्न सिनेमा महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो ।

त्यस्तै, छोटो सिनेमातर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेस्ट न्यारेटिभ’ अवार्ड पाएको छ । उत्कृष्ट छोटो डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ ।

उत्कृष्ट छोटो डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमोरिज’ले हात पारेको छ । उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन् ।

उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै, उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको छोटो सिनेमा ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रीतर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए । महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक सिनेमा, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २७ देशका ५४ वटा सिनेमाहरू देखाइएको थियो ।