भारतको ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा रिलिज भयो ‘परस्त्री’

भारतको ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा रिलिज भयो ‘परस्त्री’

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल र भारतका हलमा गत असारमा एकसाथ प्रदर्शनमा आएको सिनेमा ‘परस्त्री’ भारतको ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । सिनेमा हिन्दी भाषामा बिहीबार एमएक्स प्लेयरमा रिलिज भएको हो । यो प्लेटफर्ममा हिन्दी सिनेमा तथा सिरिजहरु निःशुल्क हेर्न पाइने सुविधा छ । तर, नेपालमा यो एप वेब ब्राउजरमा भने खुल्दैन ।

सिनेमा प्ले स्टोरबाट एप डाउनलोड गरेर मात्र हेर्न सकिन्छ । ‘परस्त्री’ घरेलू बक्सअफिस र भारतमा असफल भएको थियो । सिनेमा प्रचारका लागि नेपालबाट धाएर निर्देशकदेखि कलाकारसम्म भारतका विभिन्न टेलिभिजन शोमा समेत पुगेका थिए । तर, भारतमा सिनेमाले राम्रो व्यापार गर्न भने सकेन ।

यद्यपि, सिनेमाको कथावस्तु तथा प्राविधिक पक्षको नेपालमा प्रशंसा भएको थियो । निर्देशनमा सुरज पाण्डेले पनि राम्रो सम्भावना देखाएका छन् । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथामा आधारित छ । सिनेमामा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी लगायतको अभिनय छ ।

अभिनेत्री शिल्पा मास्केले सिनेमामा दिएको बोल्ड सिनको चर्चा भएको थियो । निरज कँडेलको छायांकन रहेको सिनेमामा शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के खनालको लेखन छ ।