बलात्कार मुद्दामा सफाइ दिइएको पलको मुद्दाको फैसला सर्वोच्चले पुनः हेर्ने, दियो यस्तो आदेश

बलात्कार मुद्दामा सफाइ दिइएको पलको मुद्दाको फैसला सर्वोच्चले पुनः हेर्ने, दियो यस्तो आदेश

द सिनेमा टाइम्स
63
Shares

सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहलाई नाबालिका बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई सर्वोच्च अदालतले पुनः हेर्ने भएको छ ।

उच्च अदालतको उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै दिएको निवेदनमाथि सुनिवाइ गर्दै व्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयूक्त इजलासले यस्तो अनुमति दिएको हो ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश  डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिने फैसला गरेको थियो । सर्वोच्चले उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै पुनः हेर्ने अनुमति प्रदान गरेको हो ।

सर्वोच्चले उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै दोहोर्‍याएर हेर्ने जनाएको हो ।

‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतको आदेशमा भनिएको छ।

नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएको थियो । नवलपुर अदालतले बाल यौन दुरूपयोगमा अभिनेता शाहलाई २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरूद्ध सरकारी वकिलसँगै पलले पनि निवदेन दिएका थिए । दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पल शाहलाई पूर्ण सफाइ दिएको थियो ।

शाहले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा सुटिङका क्रममा बलात्कार गरेको भन्दै नाबालिकाले उजुरी दिएकी थिइन् तर बकपत्रका क्रममा उनले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेपछि उच्च अदालतले त्यही बकपत्रमाथि टेकेर शाहले सफाइ पाउने फैसला गरेको थियो । यो मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले पनि सफाइ दिइसकेको छ ।

शाहले सफाई पाएपछि नाबालिकाले एक अन्तरवार्तामा आफूले लगाएको आरोप सही भएको र शाहको माया लागेर बयान फेरेको स्वीकार गरेकी थिइन् । उनले घटनामा आफू गलत नभएको बताएकी थिइन् ।