anmol jasita

खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत, आज बुधबार इन्डक्ल्याप गरिने

खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत, आज बुधबार इन्डक्ल्याप गरिने

सिनेमाले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गर्नेछ ।

दिनेश सिटौला
511
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबारबाट काठमाडौं उपत्यकाको मध्य भागमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो ।

सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ । जसले त्यहिँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ । ‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ गरिरहेका छौं’, निर्देशक भट्टराईले भने ।

छायांकनरत गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहिँ क्लाइमेक्स दृश्यको छायांकन भईरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो’ बोलको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

सिनेमाका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत अनि एकसय बढी कोरसको प्रयोग गरिएको गीतमा देखिन्छन् । सिनेमाको प्रचारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए ।

गीतमा नाच्दानाच्दै सहज महसुश गर्न लागेको अभिनेता कार्कीले बताए । ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । यद्यपि दृश्यको तुलनामा गीतमा असहजता नहुने तथ्यलाई अस्विकार उनले गरेनन् ।

सिनेमाका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायांकन सकिएसँगै इन्डक्ल्याप गरिने बताए । ‘हामी बुधवार साँझ छायांकन सकाउछौं । हामीले तय गरेको तालिका अनुसार नै काम सम्पन्न गरेका छौं । अब हाम्रो तयारी प्रचार प्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सले तेस्रो शृङखला ‘महाजात्रा’ निर्माण गरिरहेको छ । सिनेमाले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गर्नेछ ।

निर्देशक भट्टराईले सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् सिनेमामा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ ।नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् ।

सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीका अलवा यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकान, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

तस्वीर : केशव पाण्डे