फ्लाई नेपाले कमेडी टुर ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्ने

फ्लाई नेपाले कमेडी टुर ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्ने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकाका विभिन्न सहर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि ८ जना कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्ट मेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’

अमेरिका यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् । पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।

‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनले भने ।

कार्यक्रममा अमेरिका भ्रमणको तयारीमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए । एक महिना बढी चल्ने यात्राका लागि अमेरिकाको १९ शहरमा कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी दिइयो ।