छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ : शुभेच्छा खड्का

छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ : शुभेच्छा खड्का

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिस नेपाल २०१२ की सेकेण्ड रनरअप शुभेच्छा खड्काको बुझाइमा बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन ।

आफ्नो आगामी सिनेमा ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन् । बाबुछोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ । सिनेमाको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । सिनेमालाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ :-

अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो ?
यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा सिनेमामा मलाई पाउन सकिन्छ।

यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो ?
मैले दुई वटा सिनेमा गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’मा चाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं । अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु ।

सिनेमाहरुमा तपाई कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ ?
यस्तो खालको भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको सिनेमा होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले सिनेमा हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको सिनेमा होस् ।

‘चित्रा’बाट तपाईको अपेक्षा के हो ?
हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं। अहिले सामाजिक कथामाथि पनि सिनेमाहरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’ चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ । मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको सिनेमा नदेखेको धेरै भयो । यसले गर्दा पनि यो सिनेमाबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ ।

बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ ?
बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ । आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरु चाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ । तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदा चाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।

तपाईको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ ?
एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो सिनेमा खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ ।

सिनेमाबाहेको केही त्यस्ता सम्झनाहरु छन् जसका लागि तपाईं आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ ?

धेरै क्षणहरु छन् । विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ । त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरुमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो । पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गार्हो नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदाचाँहि त्यतिबेला म धेरै भावुक बनेकी थिएं । उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो । हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें । पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।

पछि फिर्ता गर्नुभयो त पैसा ?
(हास्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें । त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र ?

नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ । यो कुराचाँहि तपाईलाई कस्तो लाग्छ ?
हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्‍याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने ? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ ।

मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरु गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरु पुग्नुभएको छ । आम नेपाली छोरीकहरुको जीवन कस्तो पाउनुभयो ? उनीहरुका लागि बाबुहरुले के गर्नुपर्छ जस्तो लाग्छ ?

१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरु भएका छन् । समाज र मानिसहरुको मानसिक्तामा राम्रै विकास भएको छ । तर मलाई अझै पनि बुबाहरुले छोरीहरुको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिकरुपमा जीविकापार्जन गर्नसक्छिन् । एउटा परिवार धान्न सक्ने गराउनुपर्छ । जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहाँ उनले कसैको भर पर्नपर्दैन । अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ । आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्नसकियो । त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ ।

भोलिका दिनमा तपाई आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ ?

सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु । अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।