सिनेमाको नकारात्मक पात्रमा रुचाइएका प्रमोद अग्रहरी

सिनेमाको नकारात्मक पात्रमा रुचाइएका प्रमोद अग्रहरी

सिनेमाको मेरो क्यारेक्टर नकारात्मक देखिए पनि आफ्नो र परिवारको सुरक्षाका लागि ऊ सही छ ।

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्राबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’मा अभिनेता प्रमोद अग्रहरी नकारात्मक चरित्रमा प्रस्तुत छन् । उनी नेपाली सिनेमामा नकारात्मक चरित्रमा रुचाइएका कलाकार हुन् । सिनेमाको सार्वजनिक टिजर ट्रेलर हेर्दा उनको चरित्र क्रूर देखिन्छ ।

सिनेमाको क्यारेक्टर र रियलमा आफु आकाश जमिनको अन्तरमा फरक रहेको बताउँछन् । ‘सिनेमामा म क्यारेक्टरमा हुन्छु । रियलमा म प्रमोद अग्रहरी हो । ‘चित्रा’को क्यारेक्टर र ममा केही चीज पनि मिल्दैन । मलाई रिसाउन र गाली गर्न आउँदैन । मलाई रिसाउन क्यामेराको अगाडि मात्र आउँछ । मान्छे मार्न पनि क्यामेरा अगाडि आउँछ । तर, प्रमोदमा त्यस्तो केही चीज छैन,’ उनी भन्छन् ।

यद्यपि, दर्शकले सिनेमाको क्यारेक्टरको हिसाबले ‘इमेज’ बनाउनुलाई उनी राम्रो मान्छन् । त्यसो त उनलाई नकारात्मक चरित्रमा मात्र सीमित भएको आरोप लाग्ने गरेको छ । तर, यसमा उनको आफ्नै व्याख्या छ । फिल्ममा नकारात्मक चरित्र भएपनि उसको ठाउँमा ऊ सही हुने प्रमोद बताउँछन् ।

उनी अगाडी भन्छन्, ‘मलाई नकारात्मक चरित्र बढी गरेको भन्ने गरिन्छ । तर, त्यो चरित्रले जे गर्दैछ, त्यो उसका लागि सही कुरा होला नि त । उसले जुन बाटो सही देख्यो, त्यही बाटो अपनायो ।’ सिनेमाको मेरो क्यारेक्टर नकारात्मक देखिए पनि आफ्नो र परिवारको सुरक्षाका लागि ऊ सही छ ।

‘सिनेमामा एउटा सानो घटनाले एउटा मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने कुरा देखाउन खोजिएको छ,’ उनले भने, ‘हेर्दा त्यो क्यारेक्टर नकारात्मक लाग्छ । तर, उसले आफ्नो र परिवारको सुरक्षाका लागि गलत बाटो अपनाउँछ भने त्यो उसको लागि त ठीक हो नि ।’

प्रदर्शनको तयारीमा रहेको सिनेमा चित्रालाई लिएर प्रमोदलाई राम्रै दौडधुप छ । एकातिर सिनेमा प्रदर्शनको संघारमा छ भने अर्कोतिर उनको कमब्याक नाटक ‘पगला घोडा’ मञ्चन भैरहेको छ । जसले गर्दा पुष महिना उनका लागि व्यस्त बनि रहेको छ । ‘चित्रा’ले करिअरमा एउटा इट्टा थप्नेमा उनी विश्वस्त छन् ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमामा सन्तोष अधिकारी, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । यही सिनेमाबाट सन्तोषले नेपाली रजतपटमा अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’लाई सम्भावना बोकेको सिनेमाको रुपमा हेरिएको छ । सिनेमाको निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको सिनेमाको महेश पौडेलले छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन, शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । नेपालभरको वितरण केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको सिनेमाको अष्ट्रेलिया रिलिज अधिकार अविनास रोका मगरले किनेका छन् ।