एरियल-एक्सन सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक

एरियल-एक्सन सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको मुख्य भूमिका रहेको छ । एरियल-एक्सन जनरामा निर्माण भएको सिनेमामा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् ।

‘पठान’ र ‘वार’ जस्ता व्यावसायिक हिट बलिउड सिनेमा निर्देशन गरेका सिद्धार्थ आनन्दको सिनेमामा अनिल कपुरले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् । यो सिनेमालाई बलिउडको पहिलो एरियल-एक्सन सिनेमा भनिएको छ ।

तीन मिनेट लामो ट्रेलर एक्सन प्रधान छ । बदलाको कथामा निर्माण भएको सिनेमाले पाकिस्तानको आक्रमणमा ४० भारतीय सैनिक जवानले ज्यान गुमाएपछि त्यसको बदला लिन भारतको वायुसेनाले पाकिस्तान नियन्त्रित कश्मीरमा गर्ने हवाई आक्रमणको कथा उठान गरेको छ ।

माघ ११ गते भारतको रिपब्लिक डेको अवसरमा रिलिज हुने सिनेमाको केन्द्रमा भारतको राष्ट्रवादलाई स्थान दिइएको छ । ‘फाइटर’ निर्देशक आनन्दको होम प्रोडक्सन मारफिलिक्सले निर्माण गरेको हो । अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने निर्देशक आनन्दले बताएका छन् ।

सिनेमाको कथा सिद्धार्थसँगै भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् । आईएमडीबी र पिंकभिल्लाले ‘फाइटर’लाई सन् २०२४ को सबैभन्दा प्रतीक्षित सिनेमाको सुचीमा राखेका छन् ।