जन्मदिनमा सुपरस्टार निर्देशक निश्चल भने-एक्सन सिनेमा निर्देशन गर्दैछु

जन्मदिनमा सुपरस्टार निर्देशक निश्चल भने-एक्सन सिनेमा निर्देशन गर्दैछु

जन्मदिनमा गरेको पोस्टमा निश्चलले आफूले आफैलाई 'ओए निश्चल !' भन्दै आफैसँग विभिन्न वाचा गरेका छन् ।

दिनेश सिटौला
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाका सुपरस्टार निर्देशक निश्चल बस्नेत ४३ वर्ष लागेका छन् । जीवनको ४३ औं वसन्तमा टेकेको अवसर पारेर निश्चलले आफूले यो वर्ष एक्सन सिनेमा निर्देशन गर्ने घोषणा गरेका छन् ।

फेसबुकमा पोस्ट लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । योसँगै आफूले ‘बेहुली फ्रम मेघौली’ सिनेमा निर्माण गर्ने जानकारी पनि यसै पोस्ट मार्फत गरेका छन् । सिनेमामा उनले अभिनयसमेत गर्नेछन् । यो सिनेमामा उनकी पत्नीसमेत रहेकी स्वस्तिमा खड्काको समेत अभिनय रहनेछ। उनी पनि यो सिनेमाकी निर्मात्री हुन् ।

यो सिनेमा यसैवर्ष छायाँकन हुनेछ भने एक्सन सिनेमा दशैं लगत्तै फ्लोरमा जानेछ । ‘लुट’ सिनेमाबाट व्यापारिक र सिर्जनात्मक अस्तित्वका संघर्षको घर्षणमा पुगेको सिङ्गो नेपाली सिने उद्योगलाई नयाँ दिशा प्रदान गरेका निश्चलले हालसम्म ‘लुट’, ‘लुट २’, ‘टलकजंग भर्सेज टुल्के’ तथा ‘दिमाग खराब’ गरीचार सिनेमा निर्देशन गरिसकेका छन् ।

‘लुट’बाट नेपाली सिनेमामा निर्देशकलाई स्टारको दर्जामा पुर्‍याएका निश्चलले यस वर्ष ‘दिमाग खराब’ प्रदर्शन भएको चौथो दिनमा पचास प्रतिशत सेयर र शो नपाए हल रिलिज घोषणा गरेर नेपाली सिने उद्योगलाई अर्को गुन लगाए ।

यसअघि नेपाली सिनेमाले रिलिजको पहिलो दुई साता मात्र पचास प्रतिशत सेयर पाउने गरेकोमा उनको घोषणाले प्रदर्शनरत: अवधिभर नै पचास प्रतिशत सेयर पाउने सम्झौता गर्न नेपाली प्रदर्शकहरुलाई बाध्य गराए । यसका लागि पनि उनी स्मरणीय रहनेछन् । यस्तै निश्चलले २०८३ सालमा ‘दिमाग खराब’को सिक्वल बनाउने घोषणा नै गरिसकेका छन् ।

जन्मदिनमा गरेको पोस्टमा निश्चलले आफूले आफैलाई ‘ओए निश्चल !’ भन्दै आफैसँग विभिन्न वाचा गरेका छन् ।

‘काम राम्रो गर्नु , कोशिस घेरै गर्नु , आफ्नो भलो चिताउनेलाई सधै अंगाल्नु , खेदो मात्र खन्नेलाई कामले देखाईदिनु ….. फर्काएर !!!

परिवारलाई माया गर्नु , शुभचिन्तकहरुलाई दु:खी नबनाउनु , साथीहरु नजिक भएपनि टाढा भएपनी साथी हुन, सुखमा संगै नभएपनि दुख पर्दा साथ निभाउनु ।

यो बर्ष – बेहुली FROM मेघौली निर्माण गर्नु र दशैं अघि नयाँ Action फिल्म निर्देशन गर्नु ।

जन्मदिनको शुभकामना है त ॥’, भनेका छन् ।

निश्चल यसै वर्ष रिलिज हुने ‘अगस्त्य’मा पनि देखिनेछन् । सिनेमामा उनको विशेष भूमिका रहने बताइएको छ । उनको जन्मदिन पारेर यसका निर्माताहरुले सिनेमामा रहेको उनको फस्टलुक तस्विर सार्वजनिक गरेका छन् ।