अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक

अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ टिजरमा आर्मी र आतंककारी समुहबीचको द्वन्द्वलाई देखाइएको छ ।

आर्मी अफिसरको भूमिकामा रहेका अक्षय र टाइगर खतरनाक ‘स्टन्ट’ गर्दै प्रस्तुत छन् । भिलेनको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन भने मुखौटा लगाएर देखिएका छन् । टिजरको एक दृश्यमा ‘रोबोट’ तयार भइरहेको देखाइएको छ । यसले ‘रोबोट’सँग पनि अक्षय र टाइगरको भिडन्त हुने संकेत गर्छ ।

टिजरमा भीएफएक्स र ब्याकग्राउन्ड स्कोर सशक्त देखिन्छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ऋतिक रोशन स्टारर सिनेमा ‘फाइटर’लाई लक्षित गर्दै ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको हो । यो सिनेमा भने २०२४ को इदमा प्रदर्शन हुनेछ ।

अली अब्बास जफरको निर्देशनमा निर्माण भएको सिनेमामा सोनाक्षी सिन्हा, मानुषी छिल्लर, अलाया एफ र रोनित रोयको मुख्य भूमिका रहेको छ । देशको रक्षाका लागि आतंककारीसँग आर्मीको भिडन्तको कथामा धेरै बलिउड सिनेमा निर्माण भैसकेका छन् । सिनेमामा अक्षय र टाइगर पहिलोपटक एकसाथ हेर्न दर्शक उत्सुक रहेको टिजर सार्वजनिकपछि मिलेका प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।

सिनेमा पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई बासु भगनानी, बासु भगनानी र दिपशिखा देशमुखले निर्माण गरेका हुन् । यो सिनेमालाई बलिउड मिडिया तथा ट्रेड एक्सपर्टले वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा राखेका छन् ।